काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशभर बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। बैंकले विभिन्न क्षेत्रीय कार्यालय तथा शाखामार्फत रक्तदान कार्यक्रम सञ्चालन गर्न लागेको हो।

बैंकका अनुसार कोशी प्रदेशको विराटनगरमा कात्तिक १५ गते रक्तदान कार्यक्रम हुनेछ। त्यस्तै, काठमाडौंको ज्ञानेश्वरस्थित केन्द्रीय कार्यालय, मधेश प्रदेशको बर्दिबास, नारायणगढ क्षेत्रको कावासोती, पोखराको न्युरोड, बुटवल, पश्चिम क्षेत्रको घोराही र महेन्द्रनगरमा कात्तिक १८ गते कार्यक्रम आयोजना गरिनेछ।

ADVERTISEMENT

काठमाडौं उपत्यकालगायत देशका विभिन्न सहरमा देखिएको रगत अभावलाई ध्यानमा राखेर रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको बैंकले जनाएको छ। बैंकले प्रत्येक वर्ष आफ्नो वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रम गर्दै आएको छ।

ADVERTISEMENT

यसैगरी, बैंकले २०औँ वार्षिकोत्सवकै अवसरमा छैटौँ अन्तरबैंक तथा वित्तीय संस्थास्तरीय फुटसल प्रतियोगिता पनि आयोजना गर्ने भएको छ। कात्तिक १४ र १५ गते काठमाडौंको धन्वन्तरी फुटसल कोर्टमा हुने प्रतियोगितामा आर्थिक पत्रकारहरूको संगठन सेजन, नाफिज र इमानसहित ३० वटा बैंक तथा वित्तीय संस्थाका टोली सहभागी हुनेछन्।