काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे पाँच महिनापछि स्वदेश फर्किएका छन् ।
गत फागुन १३ मध्यराति पूर्वमन्त्रीसमेत रहेकी श्रीमती आरजु राणासहित सिंगापुर उडेका देउवा बिहीबार नेपाल फर्किएका हुन् । उनी उपचारका लागि भन्दै सिंगापुर गएका थिए ।
उनलाई विमानस्थलमा बाजागाजा र झाँकीसहित भव्य स्वागत गरिएको छ । संस्थापनइतर समूहको राष्ट्रिय भेलामा सहभागी हुन काठमाडौँ आएका देशभरका कार्यकर्ता उनको स्वागतका लागि विमानस्थल पुगेका थिए ।
देउवा शुक्रबार सुकेधारास्थित पार्टी प्यालेसमा आयोजना हुन लागेको संस्थापनइतर पक्षको राष्ट्रिय भेलामा सहभागी हुने कार्यक्रम छ ।
देउवा स्वदेश फिर्ता भएपछि कांग्रेसको आन्तरिक राजनीति गर्माएको छ । उनी फिर्ता हुने विषय मात्र होइन सर्वोच्च अदालतले विशेष महाधिवेशनका सन्दर्भमा पुनरावलोकन गर्न आदेश दिएको प्रसंगले पार्टीको राजनीति थप गिजोलिएको छ ।
देउवाको स्वागतमा इतर पक्षका नेता कार्यकर्ताले विमानस्थलमा देखाउने भनिएको शक्ति प्रदर्शन र विशेष महाधिवेशनबाट चयन भएको गगन थापा नेतृत्वका नेताहरुले दिइरहेको अभिव्यक्तिले कांग्रेस मात्र नभई मुलुककै राजनीति नयाँ मोडमा प्रवेश गर्ने अनुमान सुरु भएको छ ।
देउवाको स्वदेश फिर्तालाई कांग्रेसभित्रकै नेताहरुले विभिन्न कोणबाट शंका व्यक्त गरिरहेका छन् । कतिपयले सरकार र देउवा समूहबिच नयाँ समझदारी बनेको अनुमान गरेका छन् भने कतिपयले गगन थापा समूहलाई कमजोर बनाउने रणनीतिका रुपमा व्यख्या गरेका छन् । रेड कर्नर नोटिस जारी गरेर नेपाल झिकाउने मनस्थितिमा रहेको नेपाल सरकार एकाएक कसरी परिवर्तन भयो भन्ने विषय सबैभन्दा रोचक र चासोपूर्ण मानिएको छ ।






