काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले नुवाकोटको देविघाटमा बेलिब्रिज निर्माण गरेको भन्दै नेपाली सेनालाई धन्यवाद दिएका छन्।

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका क्रममा बिहीबार देविघाट पुगेका देउवाले त्यहाँ नेपाली सेनाका अधिकारी तथा सुरक्षाकर्मीसँग भेट गर्दै पुल निर्माण गरेर स्थानीयलाई आवतजावतमा सहज बनाएकोमा धन्यवाद दिएका हुन्।

ADVERTISEMENT

देउवाले विपद्का कारण जनता समस्यामा परेको समयमा नेपाली सेनाले पुल निर्माण गरेर नुवाकोटका स्थानीयलाई आवतजावतमा सहयोग गरेको बताए।

ADVERTISEMENT

‘धेरै–धेरै धन्यवाद,’ देउवाले सेनाका अधिकारीहरूसँग भने, ‘नेपाली जनता दुःखमा परेको बेलामा साथ दिएर बेलीब्रिज बनाइदिनुभएको छ। नुवाकोटका दाजुभाइ तथा माथिल्लो क्षेत्रका मानिसलाई आवतजावत गर्न सहज भएको छ।’

उनले नेपाली सेनालाई आगामी दिनमा पनि अझ राम्रो काम गर्न आग्रह गरे। ‘तपाईंहरू अझै राम्रो काम गर्नु होला,’ देउवाले भने। देउवा बिहीबार बिहान कांग्रेस नेताहरू डा. शशांक कोइराला, प्रकाशमान सिंह, डा. प्रकाशशरण महत, एनपी साउद, मोहन बस्नेत, गुरु बराल र कुन्दनराज काफ्लेसहित नुवाकोट पुगेका हुन्।

ADVERTISEMENT