काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान सरकारले आगामी १५–२० वर्षका लागि बलियो जग खन्ने काम गरिरहेको बताएका छन् ।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा रास्वपाले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा लामिछानेले चार महिनाको अवधिमा सरकारले तत्काल देखिने काम नगरेजस्तो लागे पनि दीर्घकालीन विकासका लागि आधार तयार भइरहेको बताए ।
उनले संसदमा युवाको उल्लेख्य उपस्थिति र ३५–३६ वर्षकै उमेरमा युवा प्रधानमन्त्री बन्नु नेपालका लागि ऐतिहासिक उपलब्धि भएको बताए । रास्वपा ‘विकल्प खोज्ने’ नभई आफैं विकल्प र ‘निर्विकल्प शक्ति’ बन्ने उद्देश्यका साथ अघि बढेको उनको भनाइ थियो ।
युवा सांसद तथा मन्त्रीहरूका लागि पदमा रमाउने नभई नतिजामुखी भएर काम गर्ने समय रहेको उनले बताए । युवा नेतृत्व असफल भए भविष्यमा ‘अनुभवहीन युवाबाट राजनीति सम्भव छैन’ भन्ने नकारात्मक भाष्य बन्न सक्ने भन्दै उनले जिम्मेवारीपूर्वक काम गर्न आग्रह गरे ।





