काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था बचत रकम हिनामिना प्रकरणमा तारिख बुझ्न बिहीबार काठमाडौं जिल्ला अदालत पुगेका छन्।
स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलनसम्बन्धी मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ। सोही मुद्दामा अदालतले तोकेको नियमित तारिखका लागि लामिछाने अदालतमा उपस्थित भएका हुन्।
अनुसन्धानका क्रममा स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट कुल १ अर्ब १९ करोड रुपैयाँमध्ये ५ करोड ७८ लाख ९६ हजार रुपैयाँ तत्कालीन अवस्थामा लामिछाने आबद्ध रहेको गोर्खा मिडिया नेटवर्कमा गएको भेटिएको अभियोग छ।
अभियोगअनुसार सहकारीबाट प्रत्यक्ष रूपमा २ करोड ६६ लाख रुपैयाँ र विभिन्न व्यक्तिका नाममा फर्जी खाता प्रयोग गरेर थप २ करोड १३ लाख ९६ हजार रुपैयाँ गरी कुल ५ करोड ७८ लाख ९६ हजार रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा पुगेको दाबी गरिएको छ।
यसअघि थुनछेक बहसपछि काठमाडौं जिल्ला अदालतले लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो।




