काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहलाई उच्च राजनीतिक चरित्र देखाउन आग्रह गरेका छन्।

शुक्रबार गृह जिल्ला चितवनमा आयोजित कार्यक्रममा बोल्दै लामिछानेले जनताले दिएको ठूलो जनमतअनुसार सरकार र पार्टीका नेताहरूको व्यवहार हुनुपर्ने बताए।

ADVERTISEMENT

रास्वपाले १८२ सिट पाएको उल्लेख गर्दै उनले पार्टीका नेताहरूमा अहंकार बढेको टिप्पणी गरे। जनताले दिएको मतका कारण पार्टीका नेताहरूको खुट्टा भुइँमा नरहेको उनको भनाइ थियो।

ADVERTISEMENT

‘हामी खरो उत्रिएका छौँ? जनताले १८२ सिट दिएका छन्, हाम्रो भुइँमा खुट्टा छैन, मात्तिएका छौँ, टुप्पिएका छौँ,’ उनले भने। लामिछानेले सरकारका गतिविधि र व्यवहारको समाजले मूल्याङ्कन गर्ने भन्दै आलोचना गर्नेहरूमाथि जाइलाग्नु राजनीतिक चरित्र नभएको बताए।

‘समाजले हामीलाई ऐना देखाएको छ। ऐना देखाउनेतिर झम्टिने! त्यो राजनीतिक चरित्र होइन,’ उनले भने। उनले विगतमा रास्वपामा लागेका व्यक्तिहरू तत्कालीन सत्ताबाट प्रताडित भएको स्मरण गर्दै अहिले त्यसको बदला लिन प्रशासन र प्रहरीको दुरुपयोग गर्न नहुने बताए।

एउटा चुनाव जित्दैमा जनताभन्दा माथि पुगेको ठान्न नहुने उनको भनाइ थियो। जनतासँग जोडिएर काम गर्न र कुनै पनि अवस्थामा राजनीतिक अहंकार देखाउन नहुने उनले जोड दिए।