काठमाडौँ । पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले लामो समयदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका छन्। ४१ वर्षीय रोनाल्डोले ३२ वर्षीया प्रेमिका जर्जिना रोड्रिगेजसँग विवाह गरेका हुन्।
रोनाल्डो र रोड्रिगेजले मंगलबार पोर्चुगलको कास्काइसमा निजी तथा नागरिक समारोहबीच विवाह गरेका हुन्। रोनाल्डोको व्यवस्थापन पक्षका अनुसार विवाह समारोह पारिवारिक सदस्य र नजिकका व्यक्तिहरूको उपस्थितिमा निकै निजी रूपमा आयोजना गरिएको थियो।
समारोहमा उनीहरूका पाँचै सन्तानको उपस्थिति रहेको थियो। रोनाल्डो र रोड्रिगेजका चार सन्तान छन् भने रोनाल्डोका अघिल्लो सम्बन्धबाट एक छोरा छन्।
उनीहरूका जुम्ल्याहा सन्तान इभा मारिया र माटेओ ९ वर्षका, छोरी अलाना ८ वर्षकी र छोरी बेला ४ वर्षकी छन्। रोनाल्डो जुनियर १६ वर्षका छन्।
विवाहपछि रोनाल्डोले सामाजिक सञ्जालमार्फत आफू र रोड्रिगेजले विवाहको औँठी लगाएका हातको तस्वीर सार्वजनिक गरेका छन्। तस्वीरसँगै उनले ‘सी लभ जी’ लेखेका छन्।
रोनाल्डो र रोड्रिगेज लामो समयदेखि प्रेम सम्बन्धमा थिए। सार्वजनिक समारोह र सामाजिक सञ्जालमा समेत उनीहरूलाई प्रायः सँगै देखिँदै आएको थियो।











