काठमाडौँ । नेपाली कांग्रेसले सरकारले विभिन्न पक्षसँग गरेका सहमति कार्यान्वयन नगरेको भन्दै गम्भीर आपत्ति जनाएको छ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले नागरिक तथा पेसागत संघ–संस्थासँग भएका सहमति तत्काल कार्यान्वयन गरी पीडितलाई राहत र न्याय दिन सरकारसँग जोडदार माग गरेको हो।

कांग्रेस प्रवक्ता देवराज चालीसेका अनुसार सुनसरीको देवानगञ्ज–कप्तानगञ्जमा भएको घटनापछि सरकारले पीडितलाई न्याय दिने प्रतिबद्धतासहित गरेको सम्झौता अझै पूर्ण रूपमा कार्यान्वयन भएको छैन। चार जनालाई शहीद घोषणा गर्नेबाहेक अन्य सहमति अलपत्र पारिएको कांग्रेसको आरोप छ।

ADVERTISEMENT

सरकारको गैरजिम्मेवार रवैयाका कारण स्थानीय समुदायमा आक्रोश बढ्दै गएको र पुनः अर्को दुर्घटना निम्तिने खतरा रहेको कांग्रेसले चेतावनी दिएको छ।

ADVERTISEMENT

कांग्रेसले उक्त घटनाको निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानबिनका लागि उच्चस्तरीय तथा सर्वस्वीकार्य आयोग गठन गर्न यसअघि नै माग गरेको स्मरण गराएको छ। सरकारी संयन्त्र मात्र संलग्न आयोगले सरकारका कमजोरी ढाकछोप गर्न सक्ने आशंका त्यतिबेला व्यक्त गरिएको र पछिल्लो अवस्थाले आफ्नो आशंका सही साबित गरेको कांग्रेसको दाबी छ।

त्यस्तै, सरकारले चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मी, निजामती कर्मचारी, राहत शिक्षक, यातायात व्यवसायी, दुग्ध तथा उखु किसान, मिटरब्याज पीडितलगायत विभिन्न समूह तथा संघ–संस्थासँग दर्जनौँ सहमति गरेको भए पनि तिनको इमानदार कार्यान्वयन हुन नसकेको कांग्रेसले आरोप लगाएको छ।

कांग्रेसले सरकारलाई सहमति गरेर मात्र उम्किने प्रवृत्ति त्याग्न आग्रह गर्दै नागरिक तथा पेसागत संघ–संस्थासँग गरिएका सम्झौता र समझदारी तत्काल कार्यान्वयन गर्न माग गरेको छ।

बैठकले हरेक घटनामा सहमति गर्न तयार हुनु मात्र सरकारको बहादुरी नभएको निष्कर्ष निकाल्दै सहमति कार्यान्वयन नगर्ने प्रवृत्तिले सरकारप्रति नागरिकको विश्वास कमजोर बनाउँदै लगेको जनाएको छ।

राज्य नागरिकको अभिभावक हो भन्ने विश्वास नै कमजोर हुँदै गएको भन्दै कांग्रेसले सरकारलाई परिस्थितिप्रति गम्भीर र संवेदनशील बन्न आग्रह गरेको छ।