काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक नेतृत्वमा ज्ञान र प्रविधिसँगै करुणा तथा सहानुभूति अपरिहार्य हुने बताएका छन्।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य प्रशिक्षण’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेतृत्वको सबैभन्दा महत्त्वपूर्ण गुण मानवीय संवेदना भएको बताए।

ADVERTISEMENT

सभापति थापाले आगामी साउन २४ गतेदेखि कांग्रेसले ‘एनसी फर एनसी’ अभियान सञ्चालन गर्ने जानकारी दिँदै प्रत्येक नेता तथा कार्यकर्ताले वर्षभर कुनै न कुनै सामाजिक वा राष्ट्रिय कार्यसँग आफूलाई जोड्नुपर्ने नीति लिइएको बताए।

ADVERTISEMENT

विपद् व्यवस्थापनसम्बन्धी तालिममा सहभागीलाई सम्बोधन गर्दै उनले यस वर्षको सामाजिक प्रतिबद्धतालाई विपद् प्रतिकार्यसँग जोड्न आग्रह गरे। आधुनिक युगमा नेतृत्वका लागि ज्ञान र प्रविधिको सीप मात्र पर्याप्त नहुने उनको भनाइ थियो।

युवासँगको छलफल स्मरण गर्दै थापाले धेरैले नेतृत्वका लागि ज्ञान र प्रविधिलाई प्राथमिकता दिए पनि असल नेताका लागि करुणा र सहानुभूति सबैभन्दा आवश्यक गुण भएको बताए।

ADVERTISEMENT

उनले विपद्का बेला नागरिकको पीडा महसुस गर्न सक्ने क्षमता नै नेतृत्वको आधार भएको उल्लेख गर्दै सामाजिक सञ्जालको लोकप्रियताभन्दा नागरिकको जीवन र सुरक्षालाई प्राथमिकता दिनुपर्ने धारणा राखे।

“यदि करुणा, माया र सहानुभूति हरायो भने हामी केवल मेसिनजस्ता बन्छौं। भ्युज र लाइकभन्दा लाइफ महत्त्वपूर्ण हो,” उनले भने।

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा थापाले प्रशिक्षणबाट प्राप्त ज्ञानलाई समाजको तल्लो तहसम्म पुर्‍याई विपद्को समयमा प्रभावकारी भूमिका निर्वाह गर्न पनि प्रशिक्षार्थीहरूलाई आग्रह गरे।