काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले निन्दा, प्रश्न र आलोचनाबीचको फरक छुट्याउन नसकेको टिप्पणी गरेका छन्।

सोमबार कांग्रेस केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै थापाले आफूले सरकारका सार्वजनिक संस्थाबारे गरेको टिप्पणीलाई सरकारले निन्दाका रूपमा बुझेको भन्दै असन्तुष्टि जनाए।

ADVERTISEMENT

सरकारले सार्वजनिक संस्थाहरू नाफामा जान थालेको भन्दै प्रचार गर्न थालेपछि आफूले त्यसमा सुझाव र रचनात्मक आलोचना गरेको थापाको भनाइ थियो। उनले आफ्नो टिप्पणी कुनै व्यक्ति वा सरकारलाई दोष लगाउने उद्देश्यले नभई प्रश्न, विवेचना र सुझावका रूपमा आएको स्पष्ट पारे।

ADVERTISEMENT

थापाले भने, ‘सरकारले आलोचना के हो, प्रश्न के हो र निन्दा के हो भन्ने कुराको फरक छुट्याउन सकेको छैन। त्यो मेरो आलोचना थियो, त्यो मेरो प्रश्न थियो, त्यो मेरो विवेचना थियो। त्यो मेरो सुझाव थियो। निन्दा थिएन।’

उनले सार्वजनिक संस्थाहरूको आम्दानी–खर्च संरचनामाथि समेत प्रश्न उठाए। प्रति लिटर ११० रुपैयाँमा दूध खरिद गरेर १०० रुपैयाँमा बिक्री गर्ने संरचना कायम रहेसम्म सार्वजनिक संस्था नाफामा जान नसक्ने उनको तर्क थियो।

ADVERTISEMENT

त्यस्तो अवस्थालाई आफूले आलोचना गरे पनि त्यसको दोष प्रधानमन्त्री वा सरकारलाई लगाएको नहुने थापाले बताए। उनले भने, ‘त्यो मैले पनि सक्दिनँ, प्रधानमन्त्रीले पनि सक्नुहुन्नँ । मैले दोष दिएको होइन।’