काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले भदौदेखि नागरिक, नीति र नेतृत्व कार्यक्रम सुरु गर्ने भएको छ।

सहमहामन्त्री असिम शाहका अनुसार कार्यक्रमले भुइँमान्छेका आवाजलाई सीधै राज्यको नीति निर्माण र कार्यान्वयनको तहसम्म जोड्ने पुलको काम गर्ने विश्वास गरिएको छ।

जनउत्तरदायी, पारदर्शी र परिणाममुखी राजनीतिक संस्कारको विकास गर्न सरकारमा सहभागी मन्त्रीहरू महिनामा कम्तीमा एकपटक अनिवार्य रूपमा केन्द्रीय पार्टी कार्यालयमा उपस्थित भई नागरिक र पार्टी पंक्तिसँग प्रत्यक्ष संवादमा जोडिने छन् ।

ADVERTISEMENT

पहिलो चरणमा नागरिक संवाद साँझ ५ देखि ६ बजेसम्म एक घण्टाको अवधि पूर्णरूपमा आमनागरिकका लागि खुला रहने उनको भनाइ छ। मन्त्रीले सीधै सर्वसाधारण जनताका गुनासा, समस्या, अपेक्षा र सुझावहरू सुन्ने विज्ञप्तिमा उल्लेख छ।

ADVERTISEMENT

शाहका अनुसार दोस्रो चरणमा साँझ ६ बजेपछि मन्त्री, पार्टीका केन्द्रीय समिति सदस्यहरू र प्रतिनिधि सभा सदस्यहरूबीच संयुक्त बैठक बस्नेछ। पहिलो चरणमा नागरिकबाट प्राप्त सुझावहरूका आधारमा तथा देशका समसामयिक, बहुआयामिक र नीतिगत विषयहरूमा यस चरणमा सघन छलफल हुनेछ।

रास्वपा सहमहामन्त्री शाह प्रधानमन्त्री बालेन्द्र शाह बालेनका प्रमुख राजनीतिक सल्लाहकार पनि हुन् । त्यही भएर उनले सरकारले गर्ने कामका सम्बन्धमा पार्टीबाट नेतृत्व गरिरहेका छन् ।