काठमाडौं । निर्वाचनमा आफूले टिकट नपाएपछि कांग्रेसका उम्मेदवारलाई हराउन खुलेआम अन्तर्घात गरेको बताएका कांग्रेस नेता मोहन बस्नेतको सर्वत्र चर्को आलोचना भएको छ।
आफूले टिकट पाउँदा कांग्रेसका सबैले सहयोग गर्नुपर्ने, तर अरुले टिकट पाउँदा हराउन लाग्ने चरित्र आपराधिक चरित्र भएको भन्दै बस्नेतको आलोचना भएको हो। बस्नेतको अभिव्यक्तिले सिन्धुपाल्चोक कांग्रेसभित्र अझ आक्रोश र असन्तोष पोखिएको छ।
नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री तथा कांग्रेस सिन्धुपाल्चोकका महासमिति सदस्य बलदेव तिमल्सिनाले बस्नेतको यो गैरजिम्मेवार र घमण्डपूर्ण अभिव्यक्तिलाई अन्तर्घात र पार्टीविरोधी चरित्रको नांगो रूपको संज्ञा दिएका छन् ।
महासमिति सदस्य तिमल्सिनाले आइतबार वक्तव्य जारी गर्दै जीवनभर पार्टीबाट निरन्तर अवसर र पदहरूको ब्रम्हलुट मच्चाउनेहरूले नै आज पार्टीलाई घात गरेको सार्वजनिक रूपमा स्वीकार्नु अराजनीतिक व्यवहारको पराकाष्ठा भएको बताएका छन्।
पार्टीमा वर्षौंदेखि रगतपसिना बगाएका, आन्दोलन र जेलयातना व्यहोरेका सच्चा निष्ठावान् नेता तथा कार्यकर्ताहरूको अवमूल्यन र तेजोबध गर्ने बस्नेतको यो शैलीविरुद्ध अब आम कार्यकर्ताहरू सडक र सदनमा उत्रिनुपर्ने अवस्था आएको तिमल्सिनाको भनाइ छ। टिकट नपाएकै झोकमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेको घमण्डका साथ सार्वजनिक रूपमा बोल्नुले बस्नेतको अवसरवादी र स्वार्थी चरित्रलाई नांगा बनाइदिएको उनले उल्लेख गरेका छन्।
भ्रष्टाचारमा लिप्त, अवसरवादी र गैरजिम्मेवार प्रवृत्तिका नेताहरूको यस्ता हर्कत अब सिन्धुपाल्चोकका जनता र निष्ठावान् कांग्रेस कार्यकर्ताहरूलाई कुनै पनि हालतमा मान्य नहुने चेतावनीसमेत उनले दिएका छन्।
विशेष महाधिवेशनपछि कांग्रेसभित्र शुद्धीकरण र पुस्तान्तरणको लहर चलिरहेका बेला, आफ्नै पार्टीलाई हराएको धाक लगाउने र अदालत तथा विधिको शासनमाथि अशिष्ट टिप्पणी गर्ने पुराना नेताहरूप्रति जिल्ला तहदेखि नै प्रतिरोध सुरु भएको यस घटनाले स्पष्ट पारेको छ।
बस्नेतले सिन्धुपाल्चोक १ का रास्वपा उम्मेदवार भरत पराजुलीसँग साँठगाँठ गरेर कांग्रेस उम्मेदवार जंगबहादुर तामाङलाई हराएको खुलिसकेको छ । बस्नेतले पार्टीका उम्मेदवारलाई हराउन सुनकोशी गाउँपालिकाका पूर्वअध्यक्ष विनोद जिसीको नेतृत्वमा युवा परिचालन गरेको नेताहरु बताउँछन् । जिसीले नै रास्वपा उम्मेदवार पराजुलीसँग २० लाख रुपैयाँ लिएको बस्नेत निकट एक नेताले बताए ।




