काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या अनुसन्धानको प्रगतिका विषयमा सांसदहरूले सोधेको प्रश्नले गृहमन्त्री सुधन गुरुङ रिसाएका छन् ।

बिहीबार राष्ट्रिय सभाको बैठकमा प्रश्नोत्तरमा सहभागी हुन गएका गुरुङले प्रश्न सोध्ने सांसद विष्णुबहादुर विश्वकर्मालाई रोष्ट्रमबाटै प्रतिप्रश्न गरे ।

‘कञ्चनपुरकी निर्मला पन्तको दिनदहाडै बलात्कारपछि हत्या भएको दस वर्ष नाघेको छ । दोषी पत्ता लगाई न्याय दिन नसक्नुको कारण के हो । के हाम्रो राज्य संयन्त्र असफल भएको हो ?’ विश्वकर्माको प्रश्न थियो ।

ADVERTISEMENT

जवाफमा गृहमन्त्री गुरुङले उक्त घटना एकदमै सेन्सिटिभ भएको भन्दै बारम्बार यो विषय कोट्याएर निर्मला पन्तकी आमाको घाउमा नुन चुक नछर्किन आग्रह गरे । उनले विगतका सरकारले नगरेका काम अहिलेको सरकारलाई नबोकाउन भन्दै प्रतिप्रश्न गरे ।

ADVERTISEMENT

‘एकदमै सेन्सिटिभ विषय हो । अहिलेको सरकारलाई यो भारी नबोकाउनुस्,’ उनले भने, ‘म माननीयज्यूलाई नै यो प्रश्न सोध्न चाहन्छु– तपाईंहरु सरकारमा हुँदा हत्यारा किन पत्ता नलगाएको ?’

पूरक पश्न सोध्नका लागि दिएको समयमा विश्वकर्माले सांसदको नैसर्गिक अधिकारमा मन्त्रीले हस्तक्षेप गरेको भन्दै आपत्ति जनाए । उनले सांसदको प्रश्न सोध्न पाउने नैसर्गिक अधिकार भएको र जवाफ दिने मन्त्रीको कर्तव्य भएको सम्झाए । विश्वकर्माले पुन: त्यही प्रश्न दोहोर्‍याए । गुरुङले आफूले यसबारे जवाफ दिन नसक्ने बताए ।

राष्ट्रियसभाको आजको बैठकमा गृहमन्त्री गुरुङले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने सम्भावित कार्यसूची छ ।