काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकार र पार्टीभित्र राजनीतिक गडबडी तथा विवाद उत्पन्न भएको भन्ने हल्ला केवल ‘र्‍युमर’ अर्थात् अफवाह मात्र भएको दाबी गरेका छन्।

शनिबार साँझ काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै लामिछानेले पछिल्लो समय सरकार तथा पार्टीभित्र केही बिग्रिएको, राजनीतिक रूपमा अप्ठ्यारो परेको वा नेताहरूबीच विवाद भएको भन्ने चर्चा चलिरहेको भन्दै त्यस्ता हल्लालाई गम्भीर रूपमा नलिन आग्रह गरे।

उनले व्यंग्यात्मक शैलीमा यस्ता र्‍युमरलाई ‘स्न्याक्स’का रूपमा मात्र लिन आग्रह गरे। ‘कहिँकतै सुनिन्छ, केही गडबड भयो कि, केही बिग्रियो कि, राजनीतिक रूपमा अप्ठेरो पर्‍यो कि, झगडा पो पर्‍यो कि भनेर र्‍युमरहरू आउँछन्।

ADVERTISEMENT

आज विकेन्ड पनि हो, ती र्‍युमरहरूलाई स्न्याक्सको रूपमा ग्रहण गर्नुहोला,’ उनले भने। उनका अनुसार त्यस्ता हल्लाको खासै मूल्य नरहेको भन्दै उनले भने, ‘र्‍युमरहरू स्न्याक्स मात्रै हो। त्यसको खास त्योभन्दा बढी भ्यालु केही पनि छैन।’

ADVERTISEMENT

लामिछानेले रास्वपाले कुनै व्यक्तिसँग मात्र नभई इतिहाससँग वाचा गरेको दाबी गरे। त्यसैले पार्टीले गरेका प्रतिबद्धताबाट पछि हट्ने छुट आफूहरूलाई नरहेको उनको भनाइ छ।

‘हामीले एक मान्छेले अर्को मान्छेलाई प्रमिस गरेको होइन, हामीले हिस्ट्रिलाई प्रमिस गरेको हो। त्यसकारण आफ्नो वाचा, प्रतिबद्धताबाट पछि हट्ने छुट हामी कसैलाई पनि छैन,’ उनले भने।

सरकारले रोजगारी सिर्जनालगायत विषयमा गरेका प्रतिबद्धता निर्धारित समयमा पूर्ण रूपमा पूरा हुन नसकेको हुन सक्ने स्वीकार गर्दै लामिछानेले त्यसका लागि आफूहरू हार नमान्ने बताए। ‘भनेको समयमा भनेका वाचाहरू पूरा नभएको हुन सक्दछन्। तर हामी हार मान्दैनौं नि। किनभने हामीलाई हार मान्ने छुट नै छैन,’ उनले भने।

लामिछानेले वर्तमान समयलाई परिवर्तनका लागि महत्वपूर्ण अवसरका रूपमा व्याख्या गरे। इतिहासले हरेक देश र समाजलाई यस्तो अवसर सधैँ नदिने भन्दै उनले जनताले पाएको अवसरलाई सदुपयोग गर्नुपर्ने बताए।

उनले आफूहरू परिवर्तनका संवाहक मात्र भएको र वास्तविक परिवर्तनको भूमिका जनताकै हुने बताए। सरकार र राजनीतिक नेतृत्वको काम नागरिकलाई काम गर्न सक्ने वातावरण बनाउनु रहेको उनको भनाइ थियो।