काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीलाई पूर्ण रूपमा डिजिटल बनाउने अभियानअन्तर्गत ‘PulseRSP’ नामक नयाँ प्रणाली सञ्चालनमा ल्याउने भएको छ। उक्त प्रणालीबारे जानकारी दिन तथा साइबर सुरक्षासम्बन्धी सचेतना अभिवृद्धि गर्न पार्टीले आफ्ना सांसदहरूको बैठक बोलाएको छ।
रास्वपा संसदीय दलका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार शुक्रबार बिहान साढे १० बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सभापति रवि लामिछानेको उपस्थितिमा बैठक बस्नेछ। बैठकमा प्रतिनिधिसभा सदस्यहरूलाई ‘PulseRSP’ प्रणालीको प्रयोगबारे जानकारी गराइनुका साथै साइबर सुरक्षासम्बन्धी अभिमुखीकरण गरिनेछ।
बैठकपछि प्रत्येक सांसदले आफ्ना गतिविधि अनिवार्य रूपमा उक्त प्रणालीमा अद्यावधिक गर्नुपर्ने व्यवस्था गरिएको छ। सांसदबीच भेटघाटका लागि अनलाइनमार्फत समय माग्न सकिने, संसद्मा उठाउने विषयवस्तु प्रणालीमै अद्यावधिक गर्नुपर्ने तथा निर्वाचन क्षेत्रमा भएका भ्रमण, भेटघाट र अन्य कार्यक्रमको विवरण पनि सोही पोर्टलमा राख्नुपर्ने जनाइएको छ।
रास्वपाका अनुसार उक्त प्रणालीमार्फत नागरिकले आफ्नो निर्वाचन क्षेत्रका सांसदसँग प्रत्यक्ष गुनासा र सुझाव राख्न सक्नेछन्। गुनासाको ट्र्याकिङ हुने र त्यसकै आधारमा सांसदको कार्यसम्पादन मूल्यांकन गर्न सकिने सुविधा पनि ‘PulseRSP’ मा समावेश गरिएको छ।





