काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले राष्ट्रसामु देखिएका चुनौतीहरुको सामना गर्न र पार्टीका सम्पूर्ण साथीहरुलाई एकतावद्ध राष्ट्रिय भेला बोलाइएको बताएका छन् ।

शुक्रबार चुनदेवीस्थित इतर पक्षको सम्पर्क कार्यालयमा राष्ट्रिय भेला आयोजक समितिका तर्फबाट पत्रकार सम्मेलन गर्दै संयोजक कोइरालाले राष्ट्रियता, लोकतन्त्र र समाजवादका मूलभूत सिद्धान्तमा आधारित भई पार्टीलाई नयाँ कार्यदिशासहित नयाँ जीवन दिने बताए ।

उनले मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा पार्टीको सम्पूर्ण एकतासहित भावी कार्यदिशा तय गर्न साउन २९–३१ गतेसम्म आयोजना गरिएको राष्ट्रिय भेला नरोकिने पनि बताए ।
उनले भेलालाई पूर्वसभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने जानकारी दिए ।

ADVERTISEMENT

‘भेलालाई शेरवहादुर देउवाज्यूले पनि सम्वोधन गर्नु हुनेछ । यो ऐतिहासिक राष्ट्रिय भेलामा सहभागिताका लागि पार्टी संगठन, भातृसंस्था तथा शुभेच्छुकहरु सवैमा हार्दिक अनुरोध गर्दछु,’ उनले भनेका छन् ।

ADVERTISEMENT

कोइरालाले कांग्रेस केन्द्रीय कार्यसमितिको आधिकारितासम्वन्धी मुद्दामा सर्वोच्च अदालतले पुनरवलोकनका लागि दिएको अनुमतिलाई स्वागत गर्दै यसबाट आफूहरूले न्याय प्राप्त हुने कुरामा विश्वस्त रहेको बताए ।

‘सर्वोच्च अदालतको यो निर्णयको हार्दिक स्वागत गर्दछु । साथै सम्मानित सर्वोच्च अदालतबाट अब हुने पुनरावलोकनबाट हामीलाई न्याय प्राप्त हुने कुरामा विश्वस्त छौं,’ उनले भनेका छन् ।