चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि मतदान जारी रहेको छ। गएराति १२ बजेपछि सुरु भएको मतदान बिहीबार दिउँसो १२ बजेसम्म सञ्चालन हुने पार्टीको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ।

विद्युतीय प्रणालीमार्फत भइरहेको मतदानमा हालसम्म २१ सयभन्दा बढी महाधिवेशन प्रतिनिधिले मत खसालिसकेको जानकारी निर्वाचन व्यवस्थापनमा खटिएका प्राविधिक लक्ष्मण रिमालले दिएका छन्।

ADVERTISEMENT

उनका अनुसार करिब ३ हजार मत खस्ने अनुमान गरिएको छ। महाधिवेशन प्रतिनिधिको संख्या ४१ सयभन्दा बढी भए पनि मतदानमा भएको ढिलाइका कारण कतिपय प्रतिनिधि घर फर्किसकेका छन्।

ADVERTISEMENT

निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार ९९ केन्द्रीय सदस्यका लागि ३८४ जनाले उम्मेदवारी दिएका छन्। खुलातर्फ २१० जना र भूगोलतर्फ १७४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

प्रदेशगत रूपमा सुदूरपश्चिमबाट १८, मधेसबाट २०, लुम्बिनीबाट ३१, कोशीबाट २०, कर्णालीबाट ३१, बागमतीबाट २७ र गण्डकीबाट २७ जनाले उम्मेदवारी दिएका छन्। प्रत्येक प्रदेशबाट पाँच जना निर्वाचित हुने व्यवस्था छ।

रास्वपा विधानअनुसार १५८ सदस्यीय केन्द्रीय समितिमध्ये ९९ जना निर्वाचनबाट चयन हुनेछन् भने बाँकी सदस्य पछि मनोनयन गरिनेछ। सभापति पदमा भने रवि लामिछाने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्।

मतदान प्रक्रिया सुरु हुन ढिलाइ भएपछि केही प्रतिनिधिले असन्तुष्टि जनाउँदै नाराबाजीसमेत गरेका थिए। त्यसपछि महाधिवेशन स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको थियो।