काठमाडौं — तत्कालीन शाही नेपाली चलचित्र संस्थानद्वारा निर्माण गरिएका १० वटा ऐतिहासिक नेपाली चलचित्रले जाँचपास (सेन्सर) प्रमाणपत्र प्राप्त गरेका छन्।

चलचित्र विकास बोर्डअन्तर्गत रहेको चलचित्र सङ्ग्रहालयमा डिजिटाइज गरी सुरक्षित राखिएका यी चलचित्रलाई सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने ‘युनिभर्सल’ प्रमाणपत्र प्रदान गरिएको हो।

ADVERTISEMENT

जाँचपास समितिका अध्यक्ष उदयबहादुर राणाले प्रमाणपत्र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीलाई हस्तान्तरण गरेका छन्। ती चलचित्र यसअघि नै डिजिटाइज गरिए पनि कानुनी रूपमा जाँचपास प्रमाणपत्र नहुँदा सार्वजनिक प्रदर्शनमा ल्याउन सकिएको थिएन।

जाँचपास प्राप्त गर्ने चलचित्रमा ‘आमा’, ‘कुमारी’, ‘सिन्दुर’, ‘बदलिँदो आकाश’, ‘के घर के डेरा’, ‘शान्तिदीप’, ‘जीवनरेखा’, ‘मनको बाँध’, ‘परिवर्तन’ र ‘हिजो आज भोलि’ रहेका छन्।

ADVERTISEMENT

बोर्डका अनुसार जाँचपास प्रक्रिया पूरा भएसँगै अब यी ऐतिहासिक चलचित्रलाई चलचित्र महोत्सव, विशेष प्रदर्शनी, शैक्षिक कार्यक्रम तथा अन्य सार्वजनिक समारोहमा प्रदर्शन गर्न सकिनेछ। नेपाली चलचित्रको विकासक्रम, तत्कालीन समाज, कला, संस्कृति, भाषा र जीवनशैली अध्ययनका लागि यी चलचित्र महत्त्वपूर्ण दृश्य–श्रव्य सम्पदा मानिन्छन्।

चलचित्र विकास बोर्डले पुराना तथा दुर्लभ नेपाली चलचित्रको खोज, सङ्कलन, डिजिटाइजेसन र संरक्षणलाई प्राथमिकता दिँदै आएको जनाएको छ। नयाँ पुस्तालाई नेपाली चलचित्रको इतिहाससँग परिचित गराउन र राष्ट्रिय चलचित्र सम्पदाको संरक्षणबारे जनचेतना अभिवृद्धि गर्न निकट भविष्यमा यी चलचित्रहरूको विशेष प्रदर्शनी आयोजना गर्ने तयारी पनि बोर्डले गरेको छ।