काठमाडौं । चलचित्र विकास बोर्डले अब स्वदेशी फिल्मको बक्स अफिस कलेक्सन रिपोर्ट हरेक सोमवार सार्वजनिक गर्ने निर्णय गरेको छ । बोर्डले सोमबार विज्ञप्ति जारी गर्दै स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट सार्वजनिक गर्ने जानकारी दिएको हो ।
शुक्रबारदेखि अर्को आइतबारसम्मको कलेक्सन जोडेर बोर्डले प्रत्येक सोमबार आफ्नो आधिकारिक वेबसाइट र सामाजिक सञ्जालमा रिपोर्ट सार्वजनिक गर्नेछ । ‘चलचित्र व्यवसायलाई पारदर्शी, तथ्यमा आधारित र व्यवस्थित बनाउन यो व्यवस्था गरिएको हो,’ बोर्डले भनेको छ ।
यसबाट निर्माता, वितरक, प्रदर्शक र आमदर्शक सबैले चलचित्रको व्यापारिक अवस्थाबारे नियमित जानकारी पाउने बोर्डको भनाइ छ ।
नयाँ व्यवस्थाअनुसार बक्स अफिस कलेक्सन रिपोर्ट बोर्डको आधिकारिक वेबसाइट तथा आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिने छ । चलचित्र विकास बोर्डले सम्बन्धित सबै सरोकारवालालाई नयाँ व्यवस्थाबारे जानकारी गराउँदै बक्स अफिस तथ्यांकको सार्वजनिककरणलाई निरन्तरता दिने जनाएको छ ।
हलिउड र बलिउडमा हरेक दिनको बक्स अफिस रिपोर्ट सार्वजनिक गर्ने चलन छ । बलिउडमा विकेन्ड रिपोर्ट सार्वजनिक गरिन्छ । नेपालमा भने बाेर्डले केही समयअघिदेखि साेमबार सामाजिक सञ्जालमार्फत रिपाेर्ट सार्वजनिक गर्दै आएकाे छ ।








