काठमाडौं । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस रिपोर्टअनुसार नेपाली फिल्म ‘गौँथली’ ले प्रदर्शनको दुई सातामै १३ करोड ६४ लाख ४६ हजार ५३५ रुपैयाँ ग्रस कमाइ गर्दै यस वर्षकै सर्वाधिक कमाउने नेपाली फिल्म बनेको छ।
आइतबार राति १० बजेसम्मको व्यापार समेटिएको बोर्डको प्रतिवेदनअनुसार साउन १ गतेदेखि प्रदर्शनमा आएको फिल्मलाई हालसम्म ४ लाख ९४ हजार ११५ दर्शकले हेरेका छन्।
पहिलो सातामै साढे ७ करोड रुपैयाँभन्दा बढी कमाइ गरेको फिल्मले दोस्रो सातासम्म आइपुग्दा १३ करोडभन्दा बढी व्यापार गर्न सफल भएको हो। तेस्रो सातामा पनि फिल्मले उत्साहजनक व्यापार गरिरहेको छ।
प्रदर्शन सुरु हुँदा करिब २०० शो पाएको ‘गौँथली’ले अहिले २५० भन्दा बढी शो पाइरहेको छ। अधिकांश हलमा दर्शकको उल्लेखनीय उपस्थिति देखिएपछि फिल्मले २० करोड रुपैयाँभन्दा बढी कमाइ गर्ने अनुमान गरिएको छ।
निर्देशक डा. कपिल रिजालको निर्देशनमा बनेको ‘गौँथली’ले यसअघि वर्षकै सर्वाधिक कमाउने फिल्म रहेको ‘लालीबजार’लाई पछि पारेको छ। ‘लालीबजार’ले ९ करोड ३२ लाख रुपैयाँ ग्रस व्यापार गरेको थियो।
फिल्मको प्रचारप्रसारलाई निरन्तरता दिँदै कलाकारसहितको टोली काठमाडौं उपत्यकादेखि मोफसलका विभिन्न हलमा पुगेर दर्शकसँग प्रत्यक्ष भेटघाट गरिरहेको छ। दर्शकले फिल्मको मौलिक कथा, पारिवारिक भाव र प्रस्तुतिको खुलेर प्रशंसा गरिरहेका छन्।
डा. भोला रिजालको कथामा आधारित फिल्ममा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना र लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय रहेको छ।










