काठमाडौं । डा. कपिल रिजाल निर्देशित नेपाली फिल्म ‘गौँथली’ ले बक्स अफिसमा ऐतिहासिक सफलता हात पारेको छ। फिल्मले ‘कबड्डी–४’को कमाइलाई उछिन्दै नेपाली फिल्ममध्ये दोस्रो सर्वाधिक कमाउने फिल्मको रेकर्ड बनाएको हो।

चलचित्र विकास बोर्डको तथ्यांकअनुसार प्रदर्शनको २८औँ दिन बिहीबार दिउँसो १ बजेसम्म ‘गौँथली’ले देशभरबाट २१ करोड ४४ लाख रुपैयाँ ग्रस कमाएको छ। सो अवधिसम्म फिल्मलाई ७ लाख ९० हजार दर्शकले हेरेका छन्।

यसअघि ‘कबड्डी–४’ले २१ करोड ४० लाख रुपैयाँ ग्रस कमाउँदै दोस्रो स्थानमा रहेको थियो। ‘गौँथली’ले उक्त कमाइलाई चार लाख रुपैयाँले उछिनेको हो।

ADVERTISEMENT

नेपाली फिल्मको सर्वाधिक कमाइको रेकर्ड भने ‘पूर्णबहादुरको सारंगी’**को नाममा छ। उक्त फिल्मले ४६ करोड ८७ लाख रुपैयाँ ग्रस कमाएको छ।

ADVERTISEMENT

डा. भोला रिजालको कथामा बनेको ‘गौँथली’मा अरुण क्षेत्री र सिम्रन खड्का मुख्य भूमिकामा छन्। फिल्मले बाल्यकालमै विवाह हुँदा पढाइबाट वञ्चित हुनुपरेको पीडा, विवाहपछि बुहारीले सासुबाट भोग्नुपर्ने समस्या तथा वैवाहिक सम्बन्धका उतारचढावलाई कथाको केन्द्रमा राखेको छ।

फिल्ममा मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना र लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय छ।

भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको फिल्मकी कार्यकारी निर्माता सरला रिजाल हुन् भने सुमन गिरी र डा. कपिल रिजाल निर्माता रहेका छन्।