काठमाडौं । चलचित्र विकास बोर्डले आइतबारसम्मको आधिकारिक बक्स अफिस विवरण सार्वजनिक गरेको छ।

सोमबार सार्वजनिक गरिएको विवरणअनुसार ‘लालीबजार’ र ‘आई एम जितबहादुर’ प्रदर्शन सूचीबाट बाहिरिएका छन् भने ‘रोल नं. १’ र ‘जाँड’ को अद्यावधिक कमाइ सार्वजनिक गरिएको छ।

ADVERTISEMENT

बोर्डका अनुसार ‘लालीबजार’ ले प्रदर्शन यात्रा टुंग्याउँदै लाइफटाइम ग्रस ९ करोड ३२ लाख ९ हजार ९२५ रुपैयाँ कमाएको छ। फिल्मका ३ लाख १७ हजार १२ टिकट बिक्री भएका छन्। वैशाख २५ गते प्रदर्शनमा आएको यो फिल्मले ५१ दिनसम्म सफल प्रदर्शन गर्दै यस वर्षकै सर्वाधिक कमाइ गर्ने नेपाली फिल्म बन्न सफल भएको हो।

यम थापाको निर्देशनमा बनेको फिल्ममा स्वस्तिमा खड्का, विशाल देवकोटा, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, प्रशंसा सुवेदी र मुकुन्दकुमार श्रेष्ठलगायत कलाकारको अभिनय रहेको छ।

ADVERTISEMENT

यस्तै, असार ५ गतेदेखि प्रदर्शनमा आएको ‘आई एम जितबहादुर’ ले प्रदर्शन अवधिभर ३१ लाख ३६ हजार ११२ रुपैयाँ ग्रस कमाइ गरेको छ। फिल्मका ९ हजार ७४२ टिकट बिक्री भएका छन्। सुवेन्दु घोष निर्देशित फिल्ममा जितु नेपाल, वर्षा राउत, प्रियंका कार्की जोशी र सन्दीप क्षेत्रीलगायत कलाकारको अभिनय रहेको छ।

यसैबीच, जेठ १५ गतेदेखि प्रदर्शनमा आएको ‘रोल नं. १’ ले असार २८ गतेसम्म १ करोड ७७ लाख ६ हजार ५८३ रुपैयाँ ग्रस कमाइ गरेको छ। बोर्डका अनुसार फिल्मका ७० हजार ६७४ टिकट बिक्री भएका छन्। जौन योञ्जन निर्देशित फिल्ममा मुकुन भुसाल, निर्भिक रेग्मी, सुशांक मैनाली, रेणु नाथ योगी, एवोन राज उप्रेती र संयम कटुवाललगायत कलाकारको अभिनय रहेको छ।

उता, असार १२ गतेदेखि प्रदर्शनमा आएको ‘जाँड’ भने व्यापारका हिसाबले यस वर्षकै सबैभन्दा कमजोर नेपाली फिल्म बनेको छ। आधिकारिक विवरणअनुसार फिल्मले हालसम्म १ लाख २६ हजार ५ रुपैयाँ मात्र ग्रस कमाइ गरेको छ भने ६२१ वटा टिकट मात्रै बिक्री भएका छन्।

राजु शाह निर्देशित फिल्ममा रमेश उप्रेती, पदम गुरुङ, कमला दाहाल, सान्भी खतिवडा र सुवास गजुरेललगायत कलाकारको अभिनय रहेको छ।