काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न कर्णाली याक्समा अनुबन्धित बंगलादेशका दुई क्रिकेटर अकबर अली र अरिफुल इस्लाम नेपाल आइपुगेका छन्।
क्लबका अनुसार दुवै खेलाडीलाई काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कर्णाली याक्सका प्रतिनिधिले स्वागत गरेका थिए। बंगलादेशको यू–१९ टोलीबाट विश्वकप खेलिसकेका अरिफुलले हालै अस्ट्रेलियामा आयोजित टप इन्ड टी–२० सिरिजमा प्रभावशाली प्रदर्शन गरेका थिए।
उनले सात खेलमा २१९ रन बनाउँदै प्रतियोगितामा सर्वाधिक रन बनाउने ब्याटरको सूचीमा तेस्रो स्थान हासिल गरेका थिए। उनले प्रतियोगितामा दुई अर्धशतकसमेत प्रहार गरेका थिए। यसअघि उनले बंगलादेश प्रिमियर लिगमा सिल्हेट स्ट्राइकर्सबाट खेलेका थिए।
त्यस्तै, २४ वर्षीय अकबर अली सन् २०२० मा बंगलादेशले पहिलोपटक आईसीसी यू–१९ विश्वकप जित्दा टोलीका कप्तान थिए। दक्षिण अफ्रिकामा भएको फाइनलमा बंगलादेशले भारतलाई तीन विकेटले पराजित गर्दै उपाधि जितेको थियो।
कर्णाली याक्सले यस संस्करणका लागि दुई बंगलादेशी खेलाडीसहित चार विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ। टोलीमा स्कटल्यान्डका मार्क वाट र पाकिस्तानका अलराउन्डर हुसैन तलात पनि छन्।
कात्तिक ९ गतेदेखि सुरु हुने एनपीएलमा कर्णाली याक्सको मार्की खेलाडी सोमपाल कामी छन्। राष्ट्रिय टोलीका अलराउन्डर गुल्शन झा र बलर नन्दन यादव पनि टोलीमा आबद्ध छन्।
कर्णालीले विपिन शर्मा, युनिस विक्रम सिंह, दीपेन्द्र रावत, पवन सर्राफ, युवराज खत्री, दीपक डुम्रे, सूर्य तामाङ, दिवान पुन, सचिन शर्मा र शिवम तिवारीलाई पनि टोलीमा अनुबन्ध गरेको छ।










