काठमाडौं । चलचित्र विकास बोर्डले आफ्नो २६औँ वार्षिकोत्सवका अवसरमा ‘ओल्ड इज गोल्ड’ शीर्षकमा पुराना नेपाली चलचित्रको विशेष प्रदर्शनी आयोजना गर्ने भएको छ ।

नेपाली चलचित्रको ऐतिहासिक विरासतको संरक्षण, प्रवर्द्धन तथा नयाँ पुस्तालाई पुराना नेपाली चलचित्रसँग परिचित गराउने उद्देश्यले आयोजना गर्न लागिएको प्रदर्शनी साउन २२ गते शुक्रबारदेखि २७ गते बुधबारसम्म चलचित्र विकास बोर्डमा हुनेछ ।

ADVERTISEMENT

प्रदर्शनीमा नेपाली चलचित्रको इतिहासमा महत्वपूर्ण स्थान राख्ने १० चलचित्र निःशुल्क देखाइने बोर्डले जनाएको छ । प्रदर्शनीको पहिलो दिन साउन २२ गते शुक्रबार दिउँसो १२ बजे हिरासिंह खत्री निर्देशित ‘आमा’ प्रदर्शन हुनेछ । साउन २३ गते शनिबार बिहान ११ बजे प्रकाश थापा निर्देशित ‘सिन्दुर’ र दिउँसो २ बजे हिरासिंह खत्री निर्देशित ‘परिवर्तन’ देखाइनेछ ।

साउन २४ गते आइतबार बिहान ११ बजे प्रकाश थापा निर्देशित ‘मनको बाँध’ तथा दिउँसो २ बजे प्रदीप रिमाल निर्देशित ‘के घर के डेरा’ प्रदर्शन हुनेछ । साउन २५ गते सोमबार दिउँसो १२ बजे प्रेमबहादुर बस्न्यात निर्देशित ‘कुमारी’ देखाइने कार्यक्रम छ ।

ADVERTISEMENT

साउन २६ गते मंगलबार बिहान ११ बजे लक्ष्मीनाथ शर्मा निर्देशित ‘शान्तिदीप’ र दिउँसो २ बजे हिरासिंह खत्री निर्देशित ‘हिजो आज भोलि’ प्रदर्शन हुनेछन् ।

प्रदर्शनीको अन्तिम दिन साउन २७ गते बुधबार बिहान ११ बजे लक्ष्मीनाथ शर्मा निर्देशित ‘बदलिँदो आकाश’ तथा दिउँसो २ बजे प्रकाश थापा निर्देशित ‘जीवनरेखा’ देखाइनेछ ।

एउटा मात्र चलचित्र प्रदर्शन हुने दिन शो दिउँसो १२ बजे सुरु हुनेछ भने दुई चलचित्र प्रदर्शन हुने दिन पहिलो शो बिहान ११ बजे र दोस्रो शो दिउँसो २ बजे सञ्चालन हुनेछ ।