काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ आज शुक्रबारदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आएको छ। प्रदर्शनअघि नै चलचित्रका ६० भन्दा बढी शो हाउसफुल भएका छन्।
चलचित्रले ठूलो संख्यामा शो पाएको छ भने कतिपय शोको अग्रिम टिकट बुकिङ नै पूरा भएको छ। कलाकारहरूले समेत सामाजिक सञ्जालमा हाउसफुल शोका स्क्रिनसट सार्वजनिक गरिरहेका छन्।
‘कबड्डी’का अघिल्ला चारवटै शृंखला बक्सअफिसमा सफल भएका थिए। पाँचौँ शृंखलाले पनि प्रदर्शनको पहिलो दिन राम्रो व्यापार गर्ने संकेत अग्रिम बुकिङले दिएको छ। यद्यपि, चलचित्रको वास्तविक कमाइ भने प्रदर्शनपछि सार्वजनिक हुने तथ्यांकबाट स्पष्ट हुनेछ।
रामबाबु गुरुङको निर्देशनमा बनेको चलचित्रमा दयाहाङ राई, विपीन कार्की, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुष्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, मिरुना मगर, कविता आले, अरुणा कार्की र शिशिर बाङ्देललगायत कलाकारको अभिनय रहेको छ।
चलचित्रमा रामबाबु गुरुङ, मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङको लगानी छ। सञ्जय लामाले छायांकन गरेको चलचित्रको सम्पादन सुरेन्द्र पौडेलले गरेका छन्।
सागर राज कार्यकारी निर्माता रहेको चलचित्रमा कालीप्रसाद बास्कोटा, अधा सुर र झुमा लिम्बूको संगीत छ। चलचित्रको कथा पनि निर्देशक गुरुङले नै लेखेका हुन्।










