काठमाडौं । तिहारलाई लक्षित गर्दै काठमाडौंको भृकुटीमण्डपमा पाँचदिने ‘चौथो तिहार फ्लोरा एक्स्पो–२०८३’ आयोजना हुने भएको छ। नर्सरी व्यवसायी संघ, नेपालले कात्तिक १७ देखि २१ गतेसम्म ‘तिहारको उत्सव, स्वदेशी फूलको महोत्सव’ नारासहित प्रदर्शनी आयोजना गर्न लागेको हो।

संघले बिहीबार पत्रकार सम्मेलनमार्फत प्रदर्शनीबारे जानकारी दिँदै तिहारमा फूल तथा नर्सरीजन्य वस्तुको बढ्दो मागलाई स्वदेशी उत्पादनबाटै पूरा गर्ने उद्देश्यले मेला आयोजना गर्न लागेको जनाएको छ।

ADVERTISEMENT

संघका अनुसार प्रदर्शनीमा फूल, फलफूल, कृषिवन तथा जडीबुटी नर्सरीका व्यावसायिक उत्पादन राखिनेछन्। साथै नर्सरी तथा नर्सरीजन्य वस्तुको बिक्रीवितरणसमेत हुनेछ। स्वदेशी उत्पादनको प्रवर्द्धन गर्दै आयातित फूल तथा नर्सरीजन्य वस्तुमाथिको निर्भरता घटाउने मेलाको मुख्य उद्देश्य रहेको संघले जनाएको छ।

ADVERTISEMENT

प्रदर्शनीमा विभिन्न प्रजातिका फूल फुल्ने तथा नफुल्ने आलंकारिक फूल बिरुवा, कृषि तथा वन, जडीबुटी नर्सरी, फलफूल नर्सरीबाट उत्पादित बिरुवा, कृषि औजार, बीउबिजन, मल तथा प्रविधिसम्बन्धी सामग्रीका स्टल रहनेछन्। नयाँ उद्यमी, जिज्ञासु तथा अध्ययन–अनुसन्धानमा संलग्न व्यक्तिका लागि पनि मेला उपयोगी हुने आयोजकको विश्वास छ।

७३ स्टल, ३५ हजार अवलोकनकर्ताको अपेक्षा

आयोजकका अनुसार मेलामा ६३ वटा व्यावसायिक स्टल रहनेछन्। वनस्पति विभाग र पुष्प विकास केन्द्रसहितका संस्थागत ६ तथा प्रतिस्पर्धाका चार स्टलसमेत गरी कुल ७३ स्टल रहनेछन्।

पाँच दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा करिब ३५ हजारले अवलोकन गर्ने र एक करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ। मेलामा सर्वसाधारणका लागि प्रवेश शुल्क प्रतिव्यक्ति १०० रुपैयाँ र विद्यार्थी तथा ज्येष्ठ नागरिकका लागि ५० रुपैयाँ तोकिएको छ।

व्यवसायीको क्षमता विकास र स्वस्थ प्रतिस्पर्धालाई प्रोत्साहन गर्न उत्कृष्ट स्टल तथा उत्पादनलाई प्रमाणपत्र र पुरस्कारद्वारा सम्मान गरिने आयोजकले जनाएको छ। प्रतिस्पर्धाको मूल्यांकनका लागि कृषि, वनस्पति तथा पुष्प विकास क्षेत्रका विज्ञ सम्मिलित तीन सदस्यीय मूल्यांकन समिति गठन गरिएको छ।

नर्सरी व्यवसाय विस्तार र रोजगारी सिर्जनामा जोड

नर्सरी व्यवसायको विकास, विस्तार र प्रवर्द्धनसँगै वातावरणमैत्री आय तथा रोजगारी सिर्जना गर्ने उद्देश्यले संघले विभिन्न गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ। संघका अनुसार २०८० असोज १५ गते औपचारिक रूपमा दर्ता भई क्रियाशील भएको संस्थाले हालसम्म ६ वटा एक्स्पो आयोजना गरिसकेको छ। यसका साथै नर्सरी बाटिका, वृक्षरोपण तथा रक्तदानजस्ता सामाजिक गतिविधि पनि सञ्चालन गर्दै आएको छ।

आयोजकले नर्सरी व्यवसायलाई केवल फूल तथा बिरुवा उत्पादन र बिक्रीमा सीमित नराखी वनस्पतिको गुणस्तर, बीउबिजन व्यवस्थापन, आयात–निर्यात, जैविक विविधता संरक्षण तथा अनुसन्धानसँग जोड्नुपर्ने आवश्यकता औँल्याएको छ।

संघले देशमा बढ्दो राजनीतिक अस्थिरता र असहज परिस्थितिका कारण उद्यमी व्यवसायीको मनोबल कमजोर भएको उल्लेख गर्दै लगानीमैत्री वातावरण निर्माण गर्न सरकार तथा राजनीतिक दलसँग आग्रह गरेको छ। यस्तो परिस्थितिले जनशक्ति पलायन र लगानी असुरक्षाको जोखिम बढाउने भन्दै व्यवसायीको मनोबल उकास्नुपर्नेमा जोड दिएको छ।

मेलाको प्रवर्द्धकका रूपमा वनस्पति विभाग र जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड रहेका छन्। सहआयोजकमा बागमती प्रदेश सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग, पुष्प विकास केन्द्र, राष्ट्रिय फलफूल विकास केन्द्र, त्रिभुवन नर्सरी, उदय गार्डेन, एभरेस्ट फ्लोरिकल्चर, कुमारी एग्रो तथा फ्लोरिकल्चर सहकारीलगायत संस्था रहेका छन्।