काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेल बैंक फर इन्टरनेशनल सेटलमेन्ट्स (बीआईएस) को वार्षिक बैठकमा सहभागी हुन स्वीट्जरल्याण्ड प्रस्थान गर्ने भएका छन्।
राष्ट्र बैंकका अनुसार गभर्नर पौडेल बीआईएसको २५औँ वार्षिक बैठकमा सहभागी हुन स्वीट्जरल्याण्डको बासेल जाँदैछन्। उनी करिब ५ देखि ७ दिनसम्म विदेशमा रहनेछन्।
बीआईएसको वार्षिक बैठक जुन २६ देखि २८ सम्म बासेलमा आयोजना हुँदैछ। बैठकमा सहभागी भएपछि गभर्नर पौडेल अर्को साता नेपाल फर्कने कार्यक्रम रहेको छ।
गभर्नर विदेश भ्रमणमा रहने अवधिमा नेपाल राष्ट्र बैंकको दैनिक कार्यसम्पादनका लागि डेपुटी गभर्नर किरण पण्डितलाई कायममुकायम गभर्नरको जिम्मेवारी दिइएको छ।
बीआईएसलाई विश्वका केन्द्रीय बैंकहरूको साझा मञ्चका रूपमा लिइन्छ, जहाँ मौद्रिक नीति, वित्तीय स्थायित्व र विश्व अर्थतन्त्रसँग सम्बन्धित विषयमा छलफल हुने गर्दछ।