काठमाडौं । नेपाली बैंकिङ क्षेत्रमा डिजिटल कारोबारअन्तर्गत मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङका ग्राहक संख्याबीच ठूलो अन्तर देखिएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को भदौ मसान्तसम्मको तथ्यांकअनुसार मोबाइल बैंकिङका ग्राहक तीन करोड चार लाख ७३ हजार ६९० पुगेका छन् भने इन्टरनेट बैंकिङका ग्राहक २५ लाख १५ हजार ८०३ मात्र छन् ।
राष्ट्र बैंकका अनुसार लघुवित्त वित्तीय संस्थाबाहेक २० वटा वाणिज्य बैंक, १७ वटा विकास बैंक र १६ वटा फाइनान्स कम्पनी गरी कुल ५३ वटा बैंक तथा वित्तीय संस्था सञ्चालनमा छन् । यी संस्थाले देशभरका ६ हजार ३११ शाखामार्फत वित्तीय सेवा प्रदान गरिरहेका छन् ।
कुल शाखामध्ये वाणिज्य बैंकका चार हजार ९०७, विकास बैंकका एक हजार १११ र फाइनान्स कम्पनीका २९३ शाखा छन् । यसैगरी, देशभर पाँच हजार ९८ एटीएम सञ्चालनमा छन् ।
तीमध्ये वाणिज्य बैंकका चार हजार ७३०, विकास बैंकका ३३६ र फाइनान्स कम्पनीका २२ वटा एटीएम छन् ।

६ करोड ४० लाखभन्दा बढी निक्षेप खाता
बैंकिङ क्षेत्रमा कुल निक्षेप खाताको संख्या ६ करोड ४० लाख आठ हजार ७६७ पुगेको छ । यसमध्ये वाणिज्य बैंकमा पाँच करोड ४९ लाख ७६ हजार १५२, विकास बैंकमा ७९ लाख ३७ हजार ६५६ र फाइनान्स कम्पनीमा १० लाख ९४ हजार ९५९ निक्षेप खाता छन् ।
निक्षेप खाताको संख्या ६ करोड नाघे पनि कुल कर्जा खाताको संख्या भने २० लाख ५२ हजार २६२ मात्र छ । तीमध्ये वाणिज्य बैंकमा १७ लाख ३१ हजार ४२, विकास बैंकमा दुई लाख ६० हजार ९३ र फाइनान्स कम्पनीमा ६१ हजार १२७ कर्जा खाता सञ्चालनमा छन् ।
मोबाइल बैंकिङमा तीन करोडभन्दा बढी ग्राहक
राष्ट्र बैंकको तथ्यांकअनुसार मोबाइल बैंकिङका कुल ग्राहक तीन करोड चार लाख ७३ हजार ६९० पुगेका छन् । यसमध्ये वाणिज्य बैंकका दुई करोड ६१ लाख ४२२, विकास बैंकका ४० लाख २४ हजार ३१ र फाइनान्स कम्पनीका तीन लाख ४९ हजार २३७ ग्राहक छन् ।
यसको तुलनामा इन्टरनेट बैंकिङका ग्राहक २५ लाख १५ हजार ८०३ मात्र छन् । तीमध्ये वाणिज्य बैंकका १८ लाख ७१ हजार नौ, विकास बैंकका छ लाख २३ हजार ४६७ र फाइनान्स कम्पनीका २१ हजार ३२७ ग्राहक रहेका छन् ।
डेबिट कार्ड एक करोड ३७ लाखभन्दा बढी
बैंक तथा वित्तीय संस्थाले जारी गरेका डेबिट कार्डको संख्या एक करोड ३७ लाख ७७ हजार ३४ पुगेको छ । यसमध्ये वाणिज्य बैंकका एक करोड २२ लाख ८० हजार ६२८, विकास बैंकका १४ लाख सात हजार ८२२ र फाइनान्स कम्पनीका ८८ हजार ५८४ डेबिट कार्ड छन् ।
त्यस्तै, क्रेडिट कार्डको संख्या तीन लाख ३९ हजार ३९३ पुगेको छ । तीमध्ये वाणिज्य बैंकका तीन लाख ३२ हजार ८०६, विकास बैंकका पाँच हजार ५७० र फाइनान्स कम्पनीका एक हजार १७ क्रेडिट कार्ड सञ्चालनमा रहेको राष्ट्र बैंकले जनाएको छ ।









