काठमाडौं । काठमाडौं महानगरपालिकाले टेकुमा निर्माणाधीन आधुनिक फोहोर स्थानान्तरण केन्द्रलाई मंसिरभित्र सञ्चालनमा ल्याउने लक्ष्यसहित निर्माण कार्यलाई तीव्रता दिएको छ।

महानगरका अनुसार केन्द्रको निर्माण कार्य अन्तिम चरणतर्फ अघि बढिरहेको छ। निर्माण सम्पन्न भएपछि मंसिरदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ। सञ्चालनमा आएपछि काठमाडौंको फोहोर व्यवस्थापनलाई थप आधुनिक, व्यवस्थित र वातावरणमैत्री बनाउने अपेक्षा गरिएको छ।

ADVERTISEMENT

हाल अधिकांश स्थानमा खुला रूपमा फोहोर छुट्याउने तथा संकलन गर्ने अभ्यास रहेकाले त्यसबाट दुर्गन्ध, प्रदूषण र स्वास्थ्यसम्बन्धी जोखिम बढ्दै गएको छ। यही अवस्थालाई सुधार गर्न टेकुमा आधुनिक प्रविधियुक्त फोहोर स्थानान्तरण केन्द्र निर्माण भइरहेको हो।

ADVERTISEMENT

यस केन्द्रमा यान्त्रिक प्रणालीमार्फत फोहोरको वर्गीकरण गरिनेछ। केन्द्रभित्र मेटेरियल रिकभरी फेसिलिटी रहनेछ, जहाँ जैविक र अजैविक फोहोर छुट्याइने व्यवस्था हुनेछ। अजैविक फोहोर पुनः प्रयोग (रिसाइकल) का लागि पठाइनेछ भने जैविक फोहोर बञ्चरेडाँडा व्यवस्थापन केन्द्रमा पठाइने योजना छ। साथै, जैविक फोहोरलाई कम्पोष्ट मल उत्पादनमा उपयोग गर्ने सम्भावनालाई समेत अगाडि बढाइँदै छ।

महानगरको अनुसार यो केन्द्र सञ्चालनमा आएपछि बञ्चरेडाँडा पुग्ने फोहोरको परिमाणसमेत घट्नेछ। फोहोरलाई स्रोतमै वर्गीकरण र पुनः प्रयोगमा जोड दिँदा अन्तिम विसर्जनका लागि लैजानुपर्ने फोहोरको मात्रा कम हुने अपेक्षा गरिएको छ।

ADVERTISEMENT

महानगरले केन्द्र सञ्चालनमा आएपछि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी, सुरक्षित र दीर्घकालीन बनाउने लक्ष्य राखेको जनाएको छ।