काठमाडौं । काठमाडौं महानगरपालिकाले जलनमा परेका व्यक्तिको २ लाख रुपैयाँसम्मको उपचार खर्च निःशुल्क व्यहोर्ने भएको छ।

यसका लागि महानगरपालिका र कीर्तिपुर अस्पताल (जनस्वास्थ्य सरोकार ट्रस्ट) बीच शुक्रबार सम्झौता भएको हो। महानगरको स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसी र अस्पतालका कार्यकारी निर्देशक गौरी प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। सम्झौतामा कार्यवाहक मेयर सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल रोहबरमा बसेका थिए।

ADVERTISEMENT

सम्झौताअनुसार कीर्तिपुर अस्पतालमा अति विपन्न, हिंसापीडित तथा बेवारिसे बिरामीलाई महानगरको स्वास्थ्य शिक्षा समितिको सिफारिशमा उपचार सेवा दिइनेछ। महानगरभित्रका स्थायी बासिन्दा, कानुनबमोजिम बसाइँसराइ गरी आएका व्यक्ति, महानगरका जनप्रतिनिधि, कर्मचारी तथा उनीहरूका परिवारका सदस्यले पनि यो सुविधा पाउनेछन्।

ADVERTISEMENT

जलन उपचारका लागि प्रतिव्यक्ति अधिकतम २ लाख रुपैयाँसम्म कोषबाट व्यहोर्ने व्यवस्था गरिएको छ। उपचारका लागि प्रयोग हुने औजार तथा उपकरण र निःशुल्क सेवा सञ्चालनका लागि महानगरले अस्पताललाई २ करोड रुपैयाँ उपलब्ध गराएको छ। त्यसमध्ये १ करोड रुपैयाँ जलन उपचार कोषका लागि छुट्याइएको हो।

कार्यवाहक मेयर डंगोलले पैसा अभावकै कारण जलनपीडितले उपचारबाट वञ्चित हुन नपरोस् भनेर कोष स्थापना गरिएको बताइन्। अस्पतालका कार्यकारी अध्यक्ष डा. भरतकुमार प्रधानले महानगरको सहयोग महत्त्वपूर्ण रहेको बताए।

ADVERTISEMENT