काठमाडौं । काठमाडौं महानगरपालिकाले म्याट्रिक्स फाइट नाइट (एमएफएन) १७ का विजेता नेपाली एमएमए फाइटर रवीन्द्र ढाटलाई २ लाख रुपैयाँसहित सम्मान गरेको छ। त्यस्तै, प्रथम खोखो विश्वकप २०२५ मा उपविजेता बनेका महिला र पुरुष टोलीलाई ११–११ लाख रुपैयाँ (जम्मा २२ लाख) को चेकसहित सम्मान प्रदान गरिएको छ। खोखो खेलाडीलाई प्रदान गरिएको रकम नेपाल खोखो संघले व्यवस्था गर्नेछ।

सामाजिक विकास समितिको सिफारिसमा आयोजित कार्यक्रममा महानगरका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, सामाजिक विकास समितिका संयोजक लगायतको उपस्थिति थियो। संयोजक रामकुमार केसीले यस्ता खेलकुद उपलब्धिले मुलुकको प्रतिष्ठा बढाउने उल्लेख गर्दै, महानगरले राष्ट्रिय टोलीलाई सम्मान गर्ने परम्परा भविष्यमा पनि निरन्तर रहने बताएका थिए।

भारतको नोएडामा सम्पन्न एमएफएन १७ मा रवीन्द्र ढाटले बान्टमवेट च्याम्पियनसिप जितेका थिए। सम्मानपछि उनले यसले आफूलाई अझ उत्कृष्ट प्रदर्शन गर्न प्रेरणा दिएको बताए। ढाटले भारतका चोंगरेंग कोरेनलाई तेस्रो राउन्डमा हराउँदै उपाधि जितेका हुन्। यस जितसँगै उनको व्यावसायिक रेकर्ड ८–१ मा पुगेको छ भने कोरेनको पाँच खेलको जितको रेकर्ड तोडिएको हो। बझाङका रवीन्द्र ढाट यो उपाधि जित्ने पहिलो नेपाली बनेका छन्।

खोखो पुरुष टोलीले नयाँ दिल्लीको इन्दिरा गान्धी इन्डोर हलमा भएको फाइनलमा आयोजक भारतसँग ५४–३६ को अन्तरले पराजय बेहोरेको थियो। महिला टोली पनि भारतसँग ७८–४० ले हार्दै उपविजेता बनेको हो। दुवै टोलीका कप्तानहरूले सम्मानले थप हौसला प्रदान गरेको भन्दै महानगरलाई धन्यवाद व्यक्त गरेका छन्।

यो उपलब्धि कुनै पनि टिम खेलमा नेपालले पहिलोपटक विश्वकप फाइनल खेलेको ऐतिहासिक क्षण बनेको छ।