काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले साउनभित्र काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गरेको छ।

आइतबार चुनदेवीस्थित समूहको सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रचारप्रसार समिति संयोजक मीन विश्वकर्माले राष्ट्रिय बहस र पार्टीको भावी कार्यदिशा तय गर्न साउनभित्रै भेला आयोजना गर्ने निर्णय गरिएको जानकारी दिए।

ADVERTISEMENT

देउवा समूहले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वले पार्टी एकताका लागि पर्याप्त पहल गर्न नसकेको आरोप लगाउँदै, राष्ट्रिय राजनीति परिवर्तनशील अवस्थामा रहेको र लोकतन्त्र तथा नागरिक अधिकारको संरक्षणका लागि नीतिगत छलफल आवश्यक भएको जनाएको छ।

समूहद्वारा जारी विज्ञप्तिमा स्थापित राजनीतिक दलहरूलाई कमजोर बनाउने प्रयास भइरहेको भन्दै पार्टीभित्र बलियो एकता कायम गर्न राष्ट्रिय भेला अपरिहार्य रहेको उल्लेख गरिएको छ।

ADVERTISEMENT

साथै, संस्थापन पक्षले सार्वजनिक अभिव्यक्तिमार्फत सहकर्मी दलसँगको सम्बन्ध बिगारेर लोकतान्त्रिक उपलब्धिलाई कमजोर बनाएको आरोप पनि लगाइएको छ।

राष्ट्रिय भेलाको मिति, समय र स्थान आगामी साउन ६ गते जननायक बीपी कोइरालाको स्मृति दिवसका अवसरमा सार्वजनिक गरिने विश्वकर्माले बताए। उनका अनुसार भेलाले पार्टीको आगामी नीति तथा संगठनात्मक रणनीति तय गर्नेछ।