ललितपुर। नेपाली कांग्रेसका नेता जितेन्द्रकुमार श्रेष्ठ ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ मा घरदैलो अभियानलाई तीव्र पार्दै मतदातासँग भेटघाटमा व्यस्त छन्। पार्टीका तर्फबाट उम्मेदवार बनेका श्रेष्ठले आफ्नो राजनीतिक अनुभव, संगठनात्मक भूमिकासहित क्षेत्र विकाससम्बन्धी एजेन्डा प्रस्तुत गर्दै मत मागिरहेका छन्।



ADVERTISEMENT

माघ ६ गते उम्मेदवारी दर्ता गरेसँगै उनले निर्वाचन परिचालनका लागि पार्टीका आन्तरिक उपसमितिहरू गठन गरी सक्रिय बनाएका छन्। फागुन ४ गतेदेखि नियमित रूपमा मतदाताको घरदैलोमा पुग्दै क्षेत्रका शहरी तथा ग्रामीण बस्तीमा भेटघाट र छलफल कार्यक्रम सञ्चालन भइरहेको उनको चुनावी टोलीले जनाएको छ।

ADVERTISEMENT

श्रेष्ठले लामो समयदेखि राजनीतिक र सामाजिक क्षेत्रमा काम गर्दै आएको पृष्ठभूमि प्रस्तुत गर्दै क्षेत्रका विद्यमान समस्या समाधानका लागि नीति निर्माण तहमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। ललितपुरको कला, संस्कृति र सम्पदा संरक्षण, पुनर्निर्माण तथा व्यवस्थापनलाई प्राथमिकतामा राख्ने उनको योजना रहेको बताइएको छ।

वि.स. २०४३ सालमा पार्टीको भातृ संगठन नेपाल विद्यार्थी संघको सदस्यता लिएसँगै उनको राजनीतिक यात्रा सुरु भएको हो। त्यसयता उनले इकाई सभापति, क्षेत्रीय कोषाध्यक्ष, क्षेत्रीय सचिव, जिल्ला कार्यसमिति सदस्य र कोषाध्यक्षलगायत विभिन्न जिम्मेवारी सम्हालेका छन्।

वि.स. २०४६ सालको पञ्चायत व्यवस्था विरुद्धको जनआन्दोलन तथा २०६२/०६३ को आन्दोलनका क्रममा पनि उनी सक्रिय रहेको उल्लेख गरिएको छ। पार्टीको महासमिति सदस्यसमेत रहेका श्रेष्ठ २०७८ साल फागुनमा सम्पन्न पार्टीको १४औँ अधिवेशनबाट जिल्ला सभापतिमा निर्वाचित भएका थिए। उनको नेतृत्वमा सम्पन्न स्थानीय तह निर्वाचनमा ललितपुरका ६ वटा स्थानीय तहमा पार्टीले बहुमत जनप्रतिनिधि निर्वाचित गराउन सफल भएको दाबी गरिएको छ।



चुनावी अभियानका क्रममा श्रेष्ठले रोजगारी सिर्जना, उद्यमशीलता विकास र सुशासनलाई प्राथमिकतामा राख्ने बताएका छन्। कला र संस्कृतिलाई सूचना तथा प्रविधिसँग जोड्दै प्रदेश र स्थानीय सरकारसँग सहकार्य गरी दीगो विकासको खाका तयार गर्ने उनको योजना रहेको छ।

ललितपुर क्षेत्र नम्बर ३ को ऐतिहासिक, सांस्कृतिक तथा भौगोलिक विविधतालाई सन्तुलनमा राखेर विकास निर्माण अघि बढाउने नीति निर्माणमा योगदान दिने उनले बताएका छन्। पछिल्लो समय उठेका सुशासन र जवाफदेहितासम्बन्धी मुद्दालाई संसद्मा सशक्त रूपमा उठाउने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।

चुनावी मैदानमा प्रतिस्पर्धा तीव्र बन्दै गइरहेका बेला श्रेष्ठले घरदैलो कार्यक्रममार्फत मतदातासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिएका छन्। उनले आफ्नो उम्मेदवारीलाई परिवर्तन, पारदर्शिता र विकाससँग जोड्दै मतदाताको समर्थन मागिरहेका छन्।