काठमाडौं । साताको पहिलो कारोबार दिने सेयर बजार उच्च अंकले बढेको छ । निरन्तर पाँचौ कारोबार दिनको वृद्धिपछि नेप्से परिसूचक २७०० विन्दुमाथि उक्लिएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४१.७० अंक बढेर २७१९.२४ विन्दुमा पुगेको छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले आज पुँजीबजारसँग सरोकार राख्ने संस्थाका प्रमुख र लगानीकर्तासँग गरेको छलफलको प्रभाव सेयर बजारमा परेको विश्लेषण गर्न थालिएको छ ।

ADVERTISEMENT

१३ मध्ये १२ उपसमूहको परिसूचक बढेको छ । उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ३.२१ प्रतिशत बढेको छ। जलविद्युत र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ । विकास बैंक, होटल तथा पर्यटन, लगानी र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

ADVERTISEMENT

नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। शुक्रबार चार अर्ब ५७ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । आज ३४३ स्टकको ६७ हजार १५५ पटकको कारोबारमा पाँच अर्ब ५१ करोड २६ लाख ८८ हजार रुपैयाँबराबरको एक करोड २२ लाख ४५ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

आँखु खोला जलविद्युत कम्पनीको २९ करोड १५ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। रिलायन्स स्पिनिङ मिल्सको करिब साढे २४ करोड रुपैयाँ र रिडी पावर डेभलपमेन्टको कारोबार रकम साढे २० करोड रुपैयाँ नाघेको छ।

ADVERTISEMENT

एभरेष्ट कलर लिमिटेडको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कम्पनीको सेयरमूल्य ४८ रुपैयाँ ५० पैसा बढेर ३७२ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ। रिज लाइन इनर्जीको शेयरमूल्य साढे १४ प्रतिशतभन्दा बढी र श्रीनगर एग्रीटेक इण्डष्ट्रीजको सेयरमूल्य करिब ११ प्रतिशत बढेको छ।