धनगढी । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले कांग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। बुधबार बसेको संसदीय दलको बैठकले साँझ ५ बजेदेखि लागू हुने गरी सरकारसँगको राजनीतिक सहकार्य अन्त्य गर्ने निर्णय गरेको हो।

संसदीय दलका नेता राजेन्द्रसिंह रावलका अनुसार बजेट पुनर्लेखनको माग सम्बोधन नगरी एमालेका मन्त्रीहरूलाई पदबाट हटाइएकाले सरकारलाई समर्थन दिइरहनुको औचित्य नरहेको निष्कर्ष निकालिएको हो।

ADVERTISEMENT

यसअघि मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, आन्तरिक मामिला तथा कानुन मन्त्री हीरा सार्की तथा भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मला साउदलाई पदबाट बर्खास्त गरेका थिए।

ADVERTISEMENT

आर्थिक वर्ष २०८३/८४ को बजेटप्रति असन्तुष्टि जनाउँदै आएको एमालेले सरकारमै रहँदा पनि बजेटविरुद्ध खर्च कटौती प्रस्ताव दर्ता गरेको थियो। विवाद समाधानका लागि कांग्रेस नेतृत्वसँग भएका प्रयास सफल नभएपछि मुख्यमन्त्री शाहले एमालेका मन्त्री हटाएका थिए भने त्यसलगत्तै एमालेले समर्थन फिर्ता लिने निर्णय गरेको हो।

यससँगै सुदूरपश्चिम प्रदेशको सत्ता समीकरणमा नयाँ राजनीतिक फेरबदलको सम्भावना बढेको छ।

ADVERTISEMENT