काठमाडौं । माइक्रोसफ्टले विश्वव्यापी रूपमा ४ हजार ८०० कर्मचारी कटौती गर्ने घोषणा गरेको छ। यो कम्पनीको कुल कार्यबलको करिब २.१ प्रतिशत हो।
यस पुनर्संरचनाको सबैभन्दा ठूलो असर एक्सबक्स विभागमा पर्ने जनाइएको छ। कम्पनीका अनुसार एक्सबक्स विभागबाट मात्रै १ हजार ६०० भन्दा बढी कर्मचारीको रोजगारी तत्काल कटौती गरिनेछ।
कर्मचारीहरूलाई पठाइएको सन्देशमा कम्पनीकी कार्यकारी उपाध्यक्ष एमी कोलम्यानले तीव्र गतिमा परिवर्तन भइरहेको सूचना प्रविधि क्षेत्रमा ग्राहकलाई अझ बढी मूल्य प्रदान गर्न सकिने क्षेत्रमा कम्पनीले ध्यान केन्द्रित गर्नुपर्ने बताएकी छन्।
यस्तै, हालै एक्सबक्सकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त भएकी आशा शर्माले कर्मचारीहरूलाई कम्पनीको इतिहासकै सबैभन्दा ठूलो पुनर्संरचना प्रक्रिया सुरु गरिएको जानकारी दिएकी छन्।
उनले यी परिवर्तनहरू एक्सबक्सलाई सानो बनाउन नभई भविष्यका लागि अझ बलियो, प्रभावकारी र प्रतिस्पर्धी बनाउन गरिएको स्पष्ट पारेकी छन्।






