तियानजिन । चिनियाँ राष्ट्रपति सी जिनपिङले सोमबार चियानजिनमा आयोजित सांघाई सहयोग संगठन (एससिओ) को वार्षिक शिखर सम्मेलनमा चीनले एससिओ विकास बैंकको स्थापना प्रक्रियालाई तीव्र बनाउन प्रयास गर्ने बताएका छन् ।
‘हाल, विश्व अवस्था अझ जटिल र अशान्त बन्दै गइरहेको छ । सदस्य राष्ट्रहरूले अझ कठिन सुरक्षा र विकाससम्बन्धी जिम्मेवारीको सामना गरिरहेका छन्’, सीले फोरममा आफ्नो प्रारम्भिक सम्बोधनमा भने ।
उनले आगामी तीन वर्षमा एससिओ सदस्य राष्ट्रहरूलाई एक अर्ब ४० करोड डलर ऋण दिने वाचा गरे । यद्यपि उहाँले यो रकम नयाँ बैंकका लागि मात्र नभएको स्पष्ट पारे ।
शिखर सम्मेलनमा सी, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा अन्य दर्जनौँ राष्ट्रका नेताहरू सहभागी छन् । मूलतः मध्य एसियामा अमेरिकी प्रभावलाई सन्तुलन गर्न स्थापित यस समूहको आकार र प्रभाव पछिल्ला वर्षहरूमा विस्तार भए पनि, यो अझै धेरै हदसम्म सुरक्षा फोरमका रूपमा चिनिन्छ । बैंक र ऋण उपलब्ध गराउने प्रस्तावमार्फत सीले संस्थाको दायरा विकासतर्फ विस्तार गर्ने संकेत दिएका छन् ।
सिंगापुरको नेसनल युनिभर्सिटीस्थित ली कुआन येव स्कुल अफ पब्लिक पोलिसीका प्राध्यापक अल्फ्रेड वुलेका अनुसार अमेरिकाको नेतृत्वमा रहेको व्यवस्था कमजोर हुँदै गएकाले सी वैकल्पिक विश्व व्यवस्था प्रस्तुत गर्न चाहन्छन् । यही नै उनको मुख्य सन्देश हो ।
सीले राष्ट्रहरूले ‘शीतयुद्धको मानसिकता, ब्लक–आधारित टकराव र बदमासीको विरोध गर्नुपर्छ, संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय प्रणालीको रक्षा गर्नुपर्छ’ भन्दै ‘समान र व्यवस्थित बहुध्रुवीय विश्व, समावेशी आर्थिक भूमण्डलीकरण र न्यायपूर्ण तथा उचित विश्वव्यापी शासन प्रणाली निर्माणमा योगदान दिनुपर्ने’ बताए । यो सन्देश चीनका अघिल्ला अभिव्यक्तिबाट फरक थिएन । शीतयुद्ध मानसिकताको विरोध प्रायः अमेरिकालाई लक्षित हुन्छ । वुलेका अनुसार चीनले कहिलेकाहीँ केही संयुक्त राष्ट्रसंघीय एजेन्सीहरूलाई कोष कटौती गरेको भए पनि, अहिलेको अवस्थामा यसको स्थिरता नै सन्देश हो ।
सन् २००१ मा स्थापना भएको एससिओमा अहिले रुस, बेलारुस, चीन, भारत, इरान, कजाकिस्तान, किर्गिजस्तान, पाकिस्तान, ताजिकिस्तान र उज्बेकिस्तान सदस्य छन् । अफगानिस्तान र मंगालिया पर्यवेक्षक राष्ट्र हुन् । दक्षिणपूर्व एसिया र मध्यपूर्वका १४ राष्ट्र ‘संवाद साझेदार’ का रूपमा संलग्न छन् ।








