काठमाडौँ। तारिक रहमानले आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न होस् भन्ने शुभकामना व्यक्त गरेका छन्।

ढाकास्थित नेपाली राजदूतावासका अनुसार मङ्गलबार साँझ बालानन्द शर्मासँग भएको भेटमा रहमानले नेपालमा हुन लागेको संसदीय निर्वाचनको सफलताका लागि शुभेच्छा व्यक्त गरेका हुन्। भेटका क्रममा दुवै पक्षबीच नेपाल–बङ्गलादेश सम्बन्ध, लोकतान्त्रिक प्रक्रिया र आगामी सहकार्यका विषयमा छलफल भएको जनाइएको छ।

ADVERTISEMENT

उक्त अवसरमा मन्त्री शर्माले रहमानलाई बङ्गलादेशको प्रधानमन्त्री पदमा निर्वाचित भएकोमा बधाई दिँदै सुशीला कार्कीले पठाएको बधाई सन्देश हस्तान्तरण गरेका थिए। सन्देशमा प्रधानमन्त्री कार्कीले रहमानलाई सफल कार्यकालको शुभकामना दिँदै नेपाल र बङ्गलादेशबीचको सम्बन्धलाई आपसी सम्मान, साझा प्रतिबद्धता र सहकार्यका आधारमा अझ अघि बढाउने इच्छा व्यक्त गरिएको उल्लेख छ।

राजदूतावासका अनुसार भेटमा शर्माले बङ्गलादेशमा निर्वाचन सम्पन्न भई लोकतान्त्रिक प्रक्रियामा भएको संक्रमणको प्रशंसा गरेका थिए। साथै रहमान नेतृत्वको  बङ्गलादेश रास्ट्रिय पार्टीले बहुमत प्राप्त गरेकोमा बधाई दिएका थिए।

ADVERTISEMENT

रहमानले आफ्नो शपथग्रहण समारोहमा सहभागिता जनाएकोमा धन्यवाद दिँदै यसले नेपाल सरकार र जनताका तर्फबाट बङ्गलादेशप्रति देखाइएको सद्भाव र मैत्री सम्बन्धलाई प्रतिबिम्बित गरेको बताएका छन्।

भेटका क्रममा दुवै पक्षले नेपाल र बङ्गलादेशबीचको दिगो साझेदारीलाई अझ सुदृढ बनाउने प्रतिबद्धता दोहोर्याएका थिए। व्यापार प्रवर्द्धन, लगानी विस्तार, ऊर्जा क्षेत्रमा सहकार्य, क्षेत्रीय सम्पर्क सञ्जालको विकास, शिक्षा आदान–प्रदान तथा पर्यटन प्रवर्द्धनका विषयमा पनि विस्तृत छलफल भएको जनाइएको छ।

यसअघि मन्त्री शर्मा बङ्गलादेशका नवनिर्वाचित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सदस्यहरूको शपथग्रहण समारोहमा सहभागी भएका थिए। सो अवसरमा विभिन्न देशका प्रतिनिधिहरूसँग पनि भेटघाट भएको बताइएको छ।

भ्रमणका क्रममा शर्माले शफिकुर रहमानसँग पनि भेटवार्ता गरेका थिए। उक्त भेटमा द्विपक्षीय सहकार्यका प्रमुख क्षेत्रहरू, राजनीतिक संवाद र क्षेत्रीय विषयमा विचार आदान–प्रदान भएको जानकारी दिइएको छ।

मन्त्री शर्मा प्रधानमन्त्री रहमानको शपथ समारोहमा सहभागी हुन गत सोमबार ढाका प्रस्थान गरेका थिए। उनको स्वदेश फर्कने कार्यक्रम बिहीबारका लागि तय गरिएको छ।