काठमाडौँ। अमेरिकी फेडरल रिजर्भ प्रमुख पावेलमाथि शुरू भएको आपराधिक अनुसन्धानको विरोधमा विश्वका केन्द्रीय बैंक प्रमुखहरूले उनीप्रति समर्थन व्यक्त गरेका छन्।

मंगलबार संयुक्त बिज्ञप्ति जारी गर्दै युरोपियन केन्द्रिय बैंकका प्रमुख क्रिस्टिन लगार्डे, बैंक अफ इंग्ल्याण्डका गभर्नर एन्ड्र्यू बेल्ली लगायतका विश्वका अन्य प्रमुख केन्द्रीय बैंक प्रमुखहरूले भने, “हामी पुर्णरुपमा फेडरल रिजर्भ प्रणाली र यसको अध्यक्ष जेरोम एच. पावेलको पक्षमा छौं।”

ADVERTISEMENT

बिज्ञप्तिमा उल्लेख छ, “केन्द्रीय बैंकको स्वतन्त्रता नै वित्तीय र आर्थिक स्थिरताको आधार हो र यसलाई कायम राख्न पूर्ण रूपमा यसप्रतिको सम्मान आवश्यक छ।”

पावेलको कार्यशैली “ईमानदारिता, आफ्नो जिम्मेवारीमा केन्द्रित र सार्वजनिक हितमा प्रतिबद्ध” रहेको पनि बयानमा उल्लेख गरिएको छ। उनी “हाम्रा आदरणीय सहकर्मी हुन् र जसले उनि सँग काम गरेका छन् तिनीहरूले उनलाई उच्च सम्मान गर्दछन”

ADVERTISEMENT

बिज्ञप्तिमा ब्राजिल, स्विट्जरल्याण्ड, स्वीडेन, डेनमार्क, दक्षिण कोरिया, अस्ट्रेलिया र क्यानडाका केन्द्रीय बैंक प्रमुखहरू समेत हस्ताक्षरकर्ता रहेका छन्।

यसअघि आइतबार साँझ पावेलले फेडको मुख्यालयको भवन नवीनीकरणमा खर्च भएको  २५ करोड अमेरिकी डलरको परियोजना र कंग्रेसमा दिएको आफ्नो बयानलाई लिएर  संघीय सरकारले आफु माथि आपराधिक अनुसन्धान सुरु गरेको बताएका  थिए।

पावेलमाथि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्याजदर घटाउन लगातार दबाब दिदै आएका छन् । पावेलले भने, “राष्ट्रपतिको चाहना बिपरित, अत्यन्त पेसागत तरिकाले कसैको दबाबमा नपरी ब्याजदर निर्धारण गर्दा आफूमाथि यो आरोप आइपर्यो ”

पावेलले चेतावनी दिदै भने , “यस अनुसन्धानको परिणामले केन्द्रीय बैंकले  भविष्यमा गर्ने निर्णयहरू निर्धारण गर्नेछ। यसले भविष्यमा पनि प्रमाण र आर्थिक परिस्थितिको मुल्यांकनको  आधारमा फेडले  निर्णय गर्न वा राजनीतिज्ञको दबाब वा डरले नीति निर्धारण गर्ने भन्ने कुरालाई स्थापति गर्नेछ ।”