सियोल । कृत्रिम बौद्धिकता (एआई) प्रविधिमा आधारित डाटा सेन्टरका लागि आवश्यक उच्च क्षमताका मेमोरी चिपको तीव्र मागका कारण दक्षिण कोरियाली प्रविधि कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले सन् २०२६ को दोस्रो त्रैमासिकमा ऐतिहासिक वित्तीय उपलब्धि हासिल गरेको छ ।
कम्पनीको परिचालन मुनाफा गत वर्षको सोही अवधिको तुलनामा झन्डै १९ गुणाले बढ्दै ८९५ खर्ब वोन पुगेको छ र यो करिब एक हजार ८०० प्रतिशतको वार्षिक वृद्धि हो ।
यद्यपि वित्तीय नतिजा अत्यन्त बलियो देखिए पनि एआई क्षेत्रमा भइरहेको तीव्र लगानी दीर्घकालसम्म टिकाउ हुने वा नहुने भन्ने चिन्ताका कारण दक्षिण कोरियाको सेयर बजारमा भने ठूलो उतारचढाव देखिएको छ । यही कारण सामसुङ तथा प्रतिस्पर्धी कम्पनी एसके हाइनिक्सको सेयरमा तीव्र गिरावट आएको छ ।
सामसुङले सार्वजनिक गरेको विवरणअनुसार अप्रिल–जुन अवधिमा कम्पनीको राजस्व एक हजार ७१५ खर्ब वोन पुगेको छ । यो अघिल्लो वर्षको तुलनामा १३० प्रतिशत बढी हो । यस अवधिमा कम्पनीको शुद्ध नाफा पनि करिब एक हजार ३०० प्रतिशतले वृद्धि भई ७१६ खर्ब वोन पुगेको छ ।
दक्षिण कोरियाको योन्हाप समाचार एजेन्सीले वित्तीय तथ्याङ्क उद्धृत गर्दै यी नतिजाले बजारको अपेक्षा पूरा गरेको जनाएको छ ।
वित्तीय उपलब्धिका बाबजुद बुधबार दक्षिण कोरियाको सेयर बजारमा एआईसँग सम्बन्धित कम्पनीका सेयरमा व्यापक बिक्री दबाब देखिएको थियो ।
सामसुङको सेयर १२ प्रतिशतभन्दा बढी घट्दा यसको प्रमुख प्रतिस्पर्धी एसके हाइनिक्सको सेयर पनि अघिल्लो दिनको १४ प्रतिशत गिरावटपछि थप करिब २० प्रतिशतले ओरालो लागेको थियो । पछिल्लो एक महिनामा रेकर्ड उचाइमा पुगेको एसके हाइनिक्सको बजार मूल्य झन्डै आधामा झरेको छ ।
एसके हाइनिक्सले पनि दोस्रो त्रैमासिकमा अघिल्लो वर्षको तुलनामा उल्लेखनीय रूपमा बढी राजस्व र परिचालन मुनाफा कमाएको भए पनि त्यो विश्लेषकहरूको अपेक्षाभन्दा कम रहेको जनाइएको छ ।
सामसुङ, एसके हाइनिक्स र अमेरिकी कम्पनी माइक्रोन विश्वका प्रमुख उच्च–ब्यान्डविड्थ मेमोरी (एचबिएम) चिप उत्पादकमध्ये पर्छन् । यी चिपहरू एआई प्रोसेसरमा च्याटबोट सञ्चालन, जटिल गणना तथा यथार्थपरक तस्बिर निर्माणजस्ता कार्यका लागि अत्यावश्यक मानिन्छन् ।





