मुम्बई । बलिउड अभिनेता आमिर खान तेस्रो पटक वैवाहिक बन्धनमा बाँधिएका छन्। उनले हेयर ड्रेसर गौरी स्प्रेटसँग आफ्नै निवासमा आयोजित एक निजी समारोहमा विवाह गरेका हुन्।
विवाहपछि आमिर र गौरीको पहिलो तस्बिर सार्वजनिक भएको छ। सार्वजनिक तस्बिरमा आमिरका छोरा जुनैद खान र छोरी आइरा खान पनि देखिएका छन्। जुनैद र आइरा आमिरकी पहिलो पत्नी रीना दत्तासँगका सन्तान हुन्।
गौरीका अघिल्लो विवाहबाट जन्मिएका आठ वर्षीय छोरा पनि समारोहमा सहभागी भएका थिए। भारतीय सञ्चारमाध्यमका अनुसार विवाह समारोहमा करिब १०० देखि १५० जना पाहुनालाई निमन्त्रणा गरिएको थियो।
परिवारका सदस्य र निकट साथीभाइको उपस्थितिमा विवाह सम्पन्न भएको जनाइएको छ। पेसाले हेयर ड्रेसर रहेकी गौरी स्प्रेट सम्बन्ध विच्छेद भइसकेकी हुन्। उनी अघिल्लो विवाहबाट एक छोराकी आमा पनि हुन्।
आमिर खानको पहिलो विवाह सन् १९८६ मा रीना दत्तासँग भएको थियो। उनीहरू सन् २००२ मा अलग भएका थिए। त्यसपछि उनले सन् २००५ मा फिल्म निर्माता किरण रावसँग दोस्रो विवाह गरेका थिए।
आमिर र किरणले सन् २०२१ मा वैवाहिक सम्बन्ध अन्त्य गरे पनि उनीहरू अहिले पनि छोराको पालनपोषणका लागि मित्रवत् सम्बन्धमा रहेका छन्। दोस्रो सम्बन्ध विच्छेदपछि केही वर्षदेखि गौरी स्प्रेटसँग सम्बन्धमा रहेका आमिरले अन्ततः निजी समारोहबीच तेस्रो विवाह गरेका हुन्।










