काठमाडौं । भुवन केसी निर्देशित फिल्म ‘बाटुलो जून’को टिजर सार्वजनिक भएको छ । अनमोल केसीको शीर्ष भूमिका रहेको फिल्मको टिजरले कथावस्तुबारे संक्षिप्त झलक दिएको छ ।
निर्देशक केसीका अनुसार ‘बाटुलो जून’ पुरानो समयको कथा मात्र नभई उनको आफ्नै सिनेमायी यात्रासँग पनि जोडिएको फिल्म हो । आफूले अभिनय गरेका दशकअघिका प्रेमकथाको समय र संवेदनालाई सम्झँदै त्यही समयलाई नयाँ पुस्ताका लागि पर्दामा पुनः सिर्जना गर्ने प्रयास गरिएको उनले बताएका छन् ।
फिल्ममा अनमोल केसीले मुख्य भूमिका निर्वाह गरेका छन् भने निर्देशक भुवन केसी पनि महत्त्वपूर्ण भूमिकामा देखिनेछन् । यही फिल्मबाट प्रिन्सी खतिवडाले अभिनयमा डेब्यु गर्दैछिन् ।
त्यस्तै, बेल्जियममा बसोबास गर्दै आएकी अभिनेत्री गरिमा पन्तले पनि ‘बाटुलो जून’मार्फत नेपाली फिल्ममा पुनरागमन गरेकी छन् । चलचित्रको कथा सामीप्यराज तिमल्सेना र सरिन पोखरेलले लेखेका हुन् । फिल्मलाई जिया केसी र भविष्य खड्काले निर्माण गरेका छन् ।
‘बाटुलो जून’ कार्तिक २६ गतेदेखि प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ ।







