काठमाडौं।अभिनेत्री सुष्मा कार्की यस पटक फरक कारणले सामाजिक सञ्जालमा भाइरल भएकी छन्। कहिले “एक लाखको अफर के हो?” भन्ने अभिव्यक्ति, कहिले “पाँच मिनेटको तीन लाख लिन्छु” भन्ने बयान, त कहिले बलिउड अभिनेता सलमान खानसँगको भेट वा पत्रकार तथा कलाकारसँगको विवादका कारण उनी प्रायः चर्चामा रहँदै आएकी छन्।
तर यस पटक भने उनी राजनीतिक सन्देश जोडिएको ट्याटु सम्बन्धी भिडियोका कारण भाइरल भएकी हुन्। सुष्मा कार्कीले पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै बनाएको भिडियो यतिबेला सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चामा छ।
अन्य कलाकारहरू प्रत्यक्ष रूपमा राजनीतिक दलसँग आबद्ध देखिने गरे पनि सुष्मा कार्की भने हालसम्म कुनै पनि राजनीतिक पार्टीसँग औपचारिक रूपमा आबद्ध रहेको पाइएको छैन। पछिल्लो समय उनी चलचित्र क्षेत्रमा कम देखिन थालेकी छन् भने हाल अस्ट्रेलियामा रहेर एक होटल सञ्चालन गर्दै आएकी छन्।
उक्त भिडियोमा उनले आफू लामो समयदेखि केपी शर्मा ओलीको “डाइ हार्ट फ्यान” रहेको बताउँदै एमालेको चुनाव चिन्ह सूर्य प्रति आस्थाका कारण शरीरमै सूर्यको ट्याटु बनाएको उल्लेख गरेकी छन्। तर पछिल्लो राजनीतिक परिवेश र आफ्नै अनुभूतिको सन्दर्भ जोड्दै उनले अब त्यो ट्याटु हटाएर घण्टी को ट्याटु बनाउने सोच बनाएको बताएकी छन्।
उनको भनाइ, “सूर्य सूर्य भनेर यत्रो ट्याटु बनाएँ, अब घण्टी बनाउनु पर्ने जस्तो छ,” भन्ने अभिव्यक्ति सामाजिक सञ्जाल प्रयोगकर्तामाझ चर्चाको विषय बनेको छ।
भिडियोमा उनले केपी शर्मा ओलीप्रति अपेक्षा व्यक्त गर्दै देशको नेतृत्व अझ मजबुत होस्, “राजा आएको जस्तै बबाल” अवस्था बनोस् भन्ने चाहना राखेकी छन्। साथै, आफू विदेशिनु परेको पीडा, पार्टीबाट अपेक्षित वास्ता नपाएको गुनासो र चुनावी समयमा समेत कुनै बोलावट नआएको दुखेसो पनि उनले व्यक्त गरेकी छन्।
राजनीतिबारे धेरै जानकारी नभए पनि देशप्रतिको माया र नेताप्रतिको अपेक्षा भने प्रस्ट देखिने यो भिडियो धेरैका लागि विदेशिएका नेपालीहरूको भावनाको प्रतिनिधि आवाज बनेको छ। सामाजिक सञ्जालमा कतिपयले यसलाई व्यंग्यात्मक अभिव्यक्ति मानेका छन् भने कतिपयले गम्भीर राजनीतिक सन्देशका रूपमा लिएका छन्।
विशेषगरी सूर्य र घण्टी जस्ता चुनाव चिन्हसँग जोडिएको ट्याटु र व्यक्तिगत प्रतिबद्धताले नेपाली राजनीतिप्रति भावनात्मक संलग्नताको गहिराइ झल्काएको विश्लेषण गरिएको छ।
भिडियोको अन्त्यमा सुष्मा कार्कीले केपी शर्मा ओलीलाई शुभकामना दिँदै “अब सूर्य होइन, घण्टीलाई भोट” भन्ने अभिव्यक्तिसहित आफ्नो सन्देश टुंग्याएकी छन्। उनले व्यंग्यात्मक शैलीमा भिडियोको “दक्षिणा” समेत माग गरेकी छन्,।






