काठमाडौं । ब्राजिल र जापानबीच सोमबार राति विश्वकपको ‘राउन्ड अफ ३२’ अन्तर्गत ऐतिहासिक भिडन्त हुँदैछ। पाँचपटकको विश्वकप विजेता ब्राजिललाई एसियाली फुटबलको पावरहाउस जापानले कस्तो टक्कर देला भन्ने अहिले चासो बढेको छ । विश्वकपको यो नकआउट चरणमा दुवै टोलीका लागि यो ‘गर या मर’ को स्थिति हो ।
फिफाको तालिकाअनुसार नेपाली समयअनुसार सोमबार राति पौने ११ बजे खेल सुरु हुनेछ ।
ब्राजिल समूह सीको विजेता सात अंक बन्दै यहाँसम्म आइपुगेको हो, जहाँ उसले मोरक्कोसँग बराबरी र हाइटी तथा स्कटल्याण्डमाथि जित निकालेको थियो । भिनिसियस जुनियर ४ गोल र माथियस कुन्हा ३ गोल ब्राजिलका मुख्य हतियार हुन् ।
जापान समूह एफको उपविजेता ५ अंक बन्दै आएको हो । उसले नेदरल्याण्ड्स र स्विडेनलाई बराबरीमा रोक्दै ट्युनिसियामाथि सानदार जित निकालेको थियो । आयासे उएडा र दाइची कामादाले २–२ गोल गरेका छन् ।
इतिहासमा ब्राजिल निकै बलियो छ । ब्राजिलले अहिलेसम्म जापानमाथि ११ जित २ बराबरी तथा १ हार व्यहोरेको छ । जापानको एकमात्र जित सन् २०२५ को अक्टोबरमा भएको पछिल्लो भिडन्तमा निस्किएको थियो ।
अप्टाको सुपरकम्प्युटरका अनुसार निर्धारित समयमा ब्राजिलको जित्ने सम्भावना ५८ प्रतिशत छ भने जापानको १८ प्रतिशत छ ।
ब्राजिलको नेतृत्व इटालियन प्रशिक्षक कार्लो एन्सेलोटीले गरिरहेका छन्, जो पाँचवटै शीर्ष युरोपेली लिग र पाँचपटक च्याम्पियन्स लिग जित्ने पहिलो प्रशिक्षक हुन् । ब्राजिलको पहिलो विदेशी प्रशिक्षकका रूपमा उनले जापानलाई विश्वकै उत्कृष्टमध्येको एक भनेर प्रशंसा गरेका छन् ।
अक्टोबर २०२५ मा टोकियोमा भएको मैत्रीपूर्ण खेलमा जापानसँग ३–२ ले हारेको प्रसंग निकाल्दै एन्सेलोटीले यो खेललाई फाइनलसरह तयारी गरेको बताए । उनले जापानी गोलकिपर जायोन सुजुकीलाई विशेष निगरानीमा राख्ने बताए ।
भिनिसियसले खेलमा ब्राजिलले सुरुदेखि नै दबाब बनाउने र जित हासिल गर्ने भविष्यवाणीसमेत गरेका छन् । उनले जापानको फुटबल विकासमा ब्राजिलको ठूलो गुन रहेको स्वीकार गरे ।





