जापान(टोकियो)। राष्ट्रपति रामचन्द्र पौडेल र जापानका सम्राट नारुहितोबीच आज टोकियोस्थित इम्पेरियल प्यालेसमा शीष्टाचार भेटवार्ता भएको छ। चार दिने जापान भ्रमणमा रहेका राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठका अवसरमा आयोजना भएको विशेष समारोहमा सहभागी भएका छन्।

भेटवार्तामा राष्ट्रपति पौडेलले नेपालको सामाजिक र आर्थिक विकासमा जापानको योगदानको प्रशंसा गरेका छन्। उनले भने, “जापानले मानव संशाधन, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, वातावरण संरक्षण र सांस्कृतिक क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको छ। यसबाट नेपाल र नेपालीहरू लाभान्वीत भएका छन्।”

राष्ट्रपति पौडेलले दुबै देश गौतम बुद्धको शिक्षा र आदर्शबाट प्रेरित रहेको उल्लेख गर्दै लुम्बिनीको योगदानले नेपाल र जापानबीच सम्बन्ध सुमधुर बनाउन महत्वपूर्ण भूमिका खेलेको बताए। उनले कूटनीतिक सम्बन्ध स्थापनापछि दुई देशबीचको मित्रता अझ निकट र गहिरो भएको पनि बताए।

उच्चस्तरीय भ्रमणको आदानप्रदानले दुई देशबीचको सम्बन्धलाई अझ मजबुत बनाएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले सम्राट नारुहितोको सन् १९८७ मा नेपाल भ्रमण र सन् २०२० मा आफूले पाएको ग्राण्ड कर्डन अफ दी अर्डर अफ दि राइजिङ सन सम्मानको स्मरण गरे। साथै, जापान सरकार र सम्राट नारुहितोप्रति नेपाल सरकार र जनताको तर्फबाट धन्यवाद ज्ञापन गर्दै नेपाल भ्रमणका लागि निमन्त्रणा पनि गरेका छन्।

सम्राट नारुहितोले पनि नेपाल–जापान कूटनीतिक सम्बन्धको ७० औँ वार्षिकोत्सव हर्षका साथ मनाउनुपर्ने बताए। उनले सन् १९८६ को नेपाल भ्रमणको स्मरण गर्दै पोखराको सराङ्कोटमा महिलाहरूले खानेपानीका लागि गाग्री प्रयोग गरेको दृश्यले पानी व्यवस्थापन अध्ययन गर्ने प्रेरणा दिएको बताए।

भेटवार्तामा दुई देशबीच प्राकृतिक विपद् र अन्य क्षेत्रका सहयोगको स्मरण गर्दै सम्राट नारुहितोले नेपाल–जापान सम्बन्ध विकासमा राष्ट्रपति पौडेलको योगदानको मूल्यांकन भएको बताए।

यसअघि राष्ट्रपति पौडेलले जापानका व्यापारिक समुदायसँगको कार्यक्रममा सम्बोधन गरेका थिए भने परराष्ट्र राज्यमन्त्री होरी इवाओसँग शीष्टाचार भेट पनि सम्पन्न भएको थियो। भ्रमण अवधिमा उनले नेपाली राजदूतावासको अवलोकन पनि गरेका छन्। जापान भ्रमणपछि राष्ट्रपति पौडेल बुधबार स्वदेश फर्कने कार्यक्रममा छन्।