क्यानबेरा/टोकियो। अष्ट्रेलियाले आफ्ना नयाँ मोडेल युद्धपोत विकास गर्नका लागि जापानलाई आधिकारिक रूपमा साझेदार छानेको घोषणा गरेको छ। दुवै देशले संयुक्तरूपमा जानकारी दिदै अष्ट्रेलियाले जापानको मोगामी-क्लास युद्धपोतलाई आधार बनाएर नयाँ युद्धपोतहरु विकास गर्ने लक्ष्य राखेको बताएका छन्। जापानको लागि सम्पूर्ण रूपमा आफैले तयार गरेर निर्यात गर्न लागेको रक्षा उपकरण सम्बन्धी यो दोस्रो परियोजना हो। जापानले पहिलो पटक फिलिपिन्सलाई एयर डिफेन्स रडार प्रणाली तयार गरेर निर्यात गरेको थियो।
प्रविधि र क्षमताहरू
जापानका रक्षा मन्त्री जेन नाकातानीले पत्रकार सम्मेलनमा यो साझेदारीलाई स्वागत गर्दै ,जापानको उन्नत प्रविधिप्रति अष्ट्रेलियाको विश्वास र रक्षा उपकरणहरुको अन्तरसञ्चालनको महत्वले दुवै देशलाई यो निर्णयमा पुग्न सहज भएको बताए।
यी नयाँ युद्धपोतहरू मित्शुबिशीले निर्माण गर्नेछ भने जहाजहरू मोगामी-क्लास युद्धपोतजस्तै उत्कृष्ट स्टेल्थ (राडारभेदी) क्षमता हुनेछ। यिनीहरुमा लगभग ९० सदस्यीय चालकदल रहनेछन र यिनीहरुलाई अर्ध-स्वचालित नेभिगेसन प्रणालीको मद्दतले सञ्चालन गरिनेछन्।

तस्बिरमा: मित्शुबिशी कम्पनी
नयाँ जहाजहरूबाट मोगामी-क्लासभन्दा ठूलो र अन्य मिसाइलहरु पनि लन्च गर्न सकिनेछ साथै यस मार्फत अमेरिकी मिसाइलहरू पनि सजिलै प्रहार गर्न सकिने बताइएको छ ।
परियोजना लागत र समयसीमा
अष्ट्रेलियाले ११ वटा नयाँ युद्धपोत निर्माण गर्ने योजना बनाएको छ र यसका लागि कुल खर्च १ अर्ब अष्ट्रेलियन डलर लाग्न सक्ने अनुमान गरिएको छ। पहिलो तीन जहाजहरु जापानमा निर्माण हुनेछन भने बाँकी अष्ट्रेलियामा तयार पारिनेछन्। पहिलो युद्ध-पोत सन् २०२९ सम्ममा तयार हुने र सन् २०३० देखि सञ्चालनमा आउने अपेक्षा गरिएको छ ।
रणनीतिक महत्त्व र रक्षा सहकार्य
दुई देशले हालका दिनहरुमा सामूहिक सैन्य अभ्यास गरिरहेका छन् र यो नयाँ युद्धपोत निर्माण र बिकाश साझेदारीका साथै उपकरणको आपसी सञ्चालन तथा मर्मत सम्भारले दुवै देशलाई रणनीतिक रुपमा अझ बलियो बनाउनेछ। जसले चीनको बढ्दो समुद्री सक्रियतालाई रणनीतिक जवाफ दिने बताइएको छ।





