काठमाडौं, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानसँग महत्वपूर्ण र ऐतिहासिक व्यापार सम्झौता भएको घोषणा गरेका छन्, जसअन्तर्गत जापानले अमेरिकामा ५५० अर्ब अमेरिकी डलर बराबरको प्रत्यक्ष विदेशी लगानी (FDI) गर्नेछ। यो सम्झौता दुबै देशका लागि लाभदायक हुने दाबी गर्दै ट्रम्पले यसलाई “अमेरिकाले कहिल्यै नगरेको सबैभन्दा बहुआयमिक र फाइदाजनक सम्झौता” को रुपमा चित्रण गरेका छन्।
सम्झौताको मुख्य बुँदामा जापानबाट आयात हुने कार, ट्रक, चामल, कृषि तथा औद्योगिक वस्तुहरूमा अमेरिकी आयात शुल्क २५ प्रतिशतबाट घटाएर १५ प्रतिशतमा ल्याइने उल्लेख गरिएको छ। यो निर्णयले जापानी वस्तुहरू अमेरिकी बजारमा सस्तो र प्रतिस्पर्धी हुने वातावरण बनाउनेछ, जसबाट उपभोक्ताहरू लाभान्वित हुनेछन्। त्यसैगरी जापानले अमेरिकामा लगानी गर्ने ५५० अर्ब डलरको ठूलो हिस्सा उद्योग, पूर्वाधार, टेक्नोलोजी, र ऊर्जा क्षेत्रमा लगानी गरिनेछ, जसबाट अमेरिकी बजारमा रोजगारी वृद्धि र आर्थिक वृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।
राष्ट्रपति ट्रम्पका अनुसार उक्त लगानीबाट हुने कुल नाफाको ९० प्रतिशत लाभ अमेरिकी पक्षले प्राप्त गर्नेछ, जसले ‘अमेरिका-फस्ट ’ नीतिमा ठूला उपलब्धिहरू हासिल गर्ने आधार बनाउने बताइएको छ । सम्झौताको घोषणा लगत्तै यसले जापानी सेयर बजारमा सकारात्मक प्रतिक्रिया देखिएको छ, विशेषतः टोयोटा , होन्डा र माज्दा जस्ता अटो कम्पनीहरूका सेयर मूल्यमा उच्च वृद्धि भएका छ।
यो सम्झौतालाई विश्लेषकहरूले अमेरिका-जापानबीचको रणनीतिक र आर्थिक सम्बन्धमा नयाँ मोडको रूपमा लिएको बताएका छन्, जुन आगामी दिनहरूमा एशिया–प्रशान्त क्षेत्रको व्यापार सन्तुलनमा समेत प्रभाव पार्न सक्छ।







