काठमाडौं । नेपालमा पछिल्लो समय अर्थतन्त्र सुस्त हुँदा यसको नकारात्मक असर घरजग्गा रजिस्ट्रेसनमा पनि देखिएको छ । नेपाल राष्ट्र बैंकले भूमि व्यवस्था तथा अभिलेख विभाग, महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकाका कार्यालयहरूबाट तथ्यांक संकलन गरी सार्वजनिक गरेको आर्थिक गतिविधि अध्ययन सम्बन्धी (एकीकृत) अर्धवार्षिक प्रतिवेदन २०८२/८३ अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा घरजग्गा रजिस्ट्रेसन १०.४ प्रतिशतले घटेर दुई लाख पाँच हजार ६ सय ८८ मा सीमित भएको छ ।

राष्ट्र बैंकका अनुसार यस अवधिमा घरजग्गा रजिस्ट्रेसनबाट प्राप्त हुने राजस्व रकम भने ६८.५ प्रतिशतले बढेर १८ अर्ब ९९ करोड ४ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा घर/भवन नक्सा पास संख्या ७.५ प्रतिशतले घटेर १४ हजार ७ सय ३२ मा सीमित रहेको छ ।

ADVERTISEMENT

प्रतिवेदनअनुसार प्रदेशगत रूपमा घरजग्गा रजिस्ट्रेसन संख्या सबैभन्दा बढी मधेश प्रदेशमा २३.७८ प्रतिशत रहेको छ भने सबैभन्दा कम कर्णाली प्रदेशमा ३.८८ प्रतिशत रहेको छ । यसैगरी, घरजग्गा रजिस्ट्रेसनबापतको राजस्व सबैभन्दा धेरै बागमती प्रदेशले ५६.७२ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशले १.४५ प्रतिशत संकलन गरेका छन् ।

समीक्षा अवधिमा बागमती प्रदेशमा सबैभन्दा बढी ३६.७७ प्रतिशत घर/भवन स्थायी नक्सा पास भएका छन् भने कर्णाली प्रदेशमा सबैभन्दा कम ४.५१ प्रतिशत घर/भवन स्थायी नक्सा पास भएका छन् ।

ADVERTISEMENT

प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कोशी प्रदेशमा ४० हजार ८ सय ६५ वटा घरजग्गा रजिस्ट्रेसन हुँदा २ हजार ८ सय ७९ वटा घर/भवनको स्थायी नक्सा पास भएको छ । यी सबैबाट कोशी प्रदेशले कुल १ अर्ब ९७ करोड २८ लाख ७० हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

मधेश प्रदेशले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कुल ४८ हजार ९ सय १० वटा घरजग्गा रजिस्ट्रेसन गरेको छ भने १ हजार ३८ वटा घर/भवनको स्थायी नक्सा पास गरेको छ । यस अवधिमा मधेश प्रदेशले कुल १ अर्ब १३ करोड ८१ लाख ३० हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

बागमती प्रदेशले पनि चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कुल ३९ हजार ७ सय ३३ वटा घरजग्गा रजिस्ट्रेसन गरेको छ भने ५ हजार ४ सय १७ वटा घर/भवनको स्थायी नक्सा पास गरेको छ । यसबाट उक्त प्रदेशले कुल १० अर्ब ७७ करोड ३५ लाख १० हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

गण्डकी प्रदेशले चालु आर्थिक वर्षको समीक्षा अवधिमा कुल १२ हजार ६ सय १३ वटा घरजग्गा रजिस्ट्रेसन गरेको छ भने १ हजार १ सय ८० वटा घर/भवनको स्थायी नक्सा पास गरेको छ । जसबाट गण्डकी प्रदेशले १ अर्ब २८ करोड २२ लाख २० हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

राष्ट्र बैंकका अनुसार लुम्बिनी प्रदेशले चालु आर्थिक वर्षको पछिल्लो छ महिनाको अवधिमा ४३ हजार १ सय २० वटा घरजग्गा रजिस्ट्रेसन गर्दा २ हजार ६ सय ९३ वटा घर/भवनको स्थायी नक्सा पास गरेको छ । यसबाट लुम्बिनी प्रदेशले कुल २ अर्ब १६ करोड ६८ लाख ५० हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

कर्णाली प्रदेशले चालु आर्थिक वर्षको पछिल्लो छ महिनाको अवधिमा ७ हजार ९ सय ७४ वटा घरजग्गा रजिस्ट्रेसन गरेको छ भने ६ सय ६५ वटा घर/भवनको स्थायी नक्सा पास गरेको छ । यस अवधिमा कर्णाली प्रदेशले ६६ करोड ५० लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

सुदूरपश्चिम प्रदेशले पनि चालु आर्थिक वर्षको पछिल्लो छ महिनाको अवधिमा कुल १२ हजार ४ सय ७३ वटा घरजग्गा रजिस्ट्रेसन गर्दा ७ सय ६० वटा घर/भवनको स्थायी नक्सा पास गरेको छ । जसबाट उक्त प्रदेशले ५० करोड १५ लाख १० हजार रुपैयाँ बराबरको राजस्व संकलन गरेको राष्ट्र बैंकले जनाएको छ ।

प्रदेशगत रूपमा भएको घरजग्गा रजिस्ट्रेसन संख्या र कुल राजस्व संकलन

(श्रोत : नेपाल राष्ट्र बैंक, भुमी व्यवस्था तथा अभिलेख बिभाग, महानगर, उपमहानगर र नगरपालिकाको कार्यालय)