धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्न बोलाएको प्रदेशसभा बैठक राति ९ बजेसम्मका लागि सारिएको छ। यसअघि सोमबार अपराह्न ५ बजे बस्ने तय भएको बैठक विशेष कारण देखाउँदै स्थगित गरिएको हो।

प्रदेशसभा सचिवालयद्वारा जारी सूचनामा २०८३ असार १ गते अपराह्न ५ बजेका लागि बोलाइएको बैठक स्थगित गरी सोही दिन राति ९ बजे बस्ने गरी समय निर्धारण गरिएको उल्लेख गरिएको छ। प्रदेशसभा सचिवले जारी गरेको सूचनामा विशेष कारणवश बैठकको समय परिवर्तन गरिएको जनाइएको छ।

यद्यपि, सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीच बजेटको विषयमा देखिएको विवादका कारण बैठक सारिएको स्रोतले जनाएको छ। बजेटमाथिको सहमति नजुट्दा प्रदेश मन्त्रिपरिषद्को बैठक समेत बस्न नसकेको बताइएको छ।

ADVERTISEMENT

मन्त्रिपरिषद्बाट बजेट स्वीकृतिमा ढिलाइ भएपछि प्रदेशसभा बैठक पनि रातिका लागि सारिएको हो। स्रोतका अनुसार बजेटका विभिन्न शीर्षकमा असहमति देखिएपछि अन्तिम सम्पादन र समायोजनको काम भइरहेको छ।

ADVERTISEMENT

भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्रबहादुर पालले आफ्नो मन्त्रालयका लागि तोकिएको बजेट सिलिङप्रति असन्तुष्टि जनाएका छन्। एमालेबाट मन्त्री बनेका पालले मन्त्रालयको आवश्यकता अनुसार बजेट विनियोजन नभएको भन्दै आपत्ति जनाएको बताइएको छ।

ADVERTISEMENT

त्यस्तै, अन्य केही मन्त्रीहरूले पनि आफूहरूले सिफारिस गरेका योजनाहरू बजेटमा समावेश नभएको गुनासो गरेका छन्। यसै कारण मुख्यमन्त्री कमलबहादुर शाह र आर्थिक मामिलामन्त्री विक्रमसिंह धामी दलहरूबीच सहमति जुटाउने प्रयासमा जुटेका छन्।