काठमाडौं।  बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६६ अर्ब ९३ करोड ९३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। सोमबार प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले आगामी वर्षको आय–व्यय विवरण प्रस्तुत गरेका हुन्।

प्रस्तुत बजेटअनुसार कुल बजेटमध्ये ३४ प्रतिशत रकम चालु खर्चका लागि तथा ६६ प्रतिशत रकम पुँजीगत खर्चका लागि विनियोजन गरिएको छ। प्रदेश सरकारले विकास निर्माण तथा पूर्वाधार विस्तारलाई प्राथमिकतामा राख्दै पुँजीगत खर्चको हिस्सा उच्च राखेको जनाएको छ।

ADVERTISEMENT

आगामी आर्थिक वर्षको बजेट चालु आर्थिक वर्षको तुलनामा केही कम रहेको छ। चालु आर्थिक वर्ष २०८२/८३ का लागि बागमती प्रदेश सरकारले ६७ अर्ब ४७ करोड रुपैयाँको बजेट ल्याएको थियो।

प्रदेश सरकारले आर्थिक अनुशासन कायम गर्दै विकास, पूर्वाधार, सेवा प्रवाह तथा उत्पादनमुखी क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट निर्माण गरिएको जनाएको छ। बजेटका विस्तृत कार्यक्रम तथा क्षेत्रगत विनियोजनबारे आगामी छलफलमार्फत थप जानकारी सार्वजनिक गरिने अपेक्षा गरिएको छ।

ADVERTISEMENT

बागमती प्रदेशको बजेटले प्रदेशको आर्थिक विकास, रोजगारी सिर्जना तथा सार्वजनिक सेवा सुधारमा केन्द्रित कार्यक्रमलाई प्राथमिकता दिएको प्रदेश सरकारको दाबी छ।